Skip

Hamro Sanchar

हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमाण्डूलाई दियो १४८ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ३ गते


काठमाडौं । हर्मित सिंहको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो दोस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शीर्ष र मध्यक्रमका ब्याटरलाई सस्तैमा गुमाए पनि हर्मित र कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालिएर ब्याटिङ गरेपछि सुदूर प्रतिस्पर्धात्मक योगफलसम्म पुगेको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको हो ।

सुदूरपश्चिमका हर्मितले सर्वाधिक ५३ रन बनाए । आक्रमक रूपमा प्रस्तुत भएका हर्मितले २० बलमा दुई चौका र ६ छक्का प्रहार गरे । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र एक छक्कासहित ३९ रन थपे । ७२–६ को नाजुक स्थितिबाट यी दुईले सातौँ विकेटका निम्ति ६१ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोहोर्‍याएका थिए ।

सुदूरपश्चिमले १६औँ ओभरको सुरुआतदेखि १८औँ ओभरको दोस्रो बलसम्म कुल १४ बलमा ५३ रन बनाउँदै इनिङ उकासेको हो । सुदूरपश्चिमले १६औँ ओभरमा २१ र १७औँ २४ रन बनाएको थियो । यस्तै, १८औँ ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा दुई रन लिँदा सुदूरपश्चिमले १४ बलमा ५३ रन जोडेको हो । तर, १८औँ ओभरको तेस्रो बलका कप्तान दीपेन्द्रसिंह ऐरी पभेलियन फर्किएपछि सुदूरको तीव्र रन गतिमा पुनः ‘ब्रेक’ लाग्यो ।

आसिफ सेखले २४ बलमा तीन चौकासहित २५ रन र इशान पाण्डेले ११ रन थपे । यसबाहेक, सुदूरका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सुदूरले ओपनरद्व विनोद भण्डारी र जस ब्रोनलाई पहिलो ओभरमै गुमाएको थियो । विनोद र ब्रोन दुवै ‘डक’ भएका थिए ।

अस्ट्रेलियाका आक्रामक ब्याटर क्रिस लिन पनि दुई रन थप्दै आउट भए । नरेन साउदले ६ रन जोड्दा स्कट कुग्गेलिन र अबिनाश बोहराले एक–एक रनमात्रै बनाए । हेमन्त धामी तीन रनमा अविजित रहे ।

काठमाण्डूका कप्तान करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेका करणले ३० रन खर्चिए । मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले समान दुई विकेट लिए ।

प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले निराश बनाएको थियो ।

यता, सुदूरपश्चिको भने यो पहिलो खेल हो । यसअघि, यी दुई टिमले पहिलो संस्करणमा एकपटक एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेको थिए । लिग चरणको उक्त खेलमा सुदूरपश्चिमले काठमाण्डूविरुद्ध ७३ रनको सहज जित निकालेको थियो ।


प्रतिकृया दिनुहोस्