
काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलन आगामी फागुन २९ र ३० गते लुम्बिनीमा हुने भएको छ । संगठनको शनिबार सम्पन्न केन्द्रीय कमिटि बैठकले यस्तो निर्णय गरेको हो ।
संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा सम्पन्न बैठकले पूर्वसञ्चार मन्त्री एवं वामपन्थी नेता स्व. प्रदीप नेपालको नाममा ५० हजार राशीको पत्रकारिता पुरस्कार घोषणा गरेको छ । भने गत चैत १५ गते राजावादीहरुको आन्दोलनमा काठमाडौंका तीनकुनेमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको नाममा १५ हजार राशिको सुरेश रजक स्मृति फोटा पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।
बैठकले निर्धारित मितिमा सम्मेलन सम्पन्न गर्नका लागि आगामी असोजदेखि पुससम्म चार महिना सांगठनिक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यो अवधिमा जिल्ला भेला, सम्मेलन, प्रदेश भेला, बैठक, प्रशिक्षण, तालिम, गोष्ठि आदि सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले सरकारले अघि सारेका मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जाल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने ठहर गर्दै यस्ता पश्चगामी विधेयक खारेजीको माग गरेको छ ।
त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चारगृह र पत्रकारहरूमाथि भइरहेका आक्रमण र हत्याजस्ता अपराधिक कार्य तत्काल बन्द गर्न माग गर्दै संगठनका अध्यक्ष शम्भु श्रेष्ठमाथि समाचार लेखेकै कारण राज्यले प्रतिशोध साँध्ने काम गरेको बैठकको ठहर छ ।
बैठकले पत्रकारको भौतिक सुरक्षासम्बन्धी आवश्यक नीति तय गरी कार्यान्वयन गर्न माग गरेको छ । साथै संघ, प्रदेश र स्थानीय सरकारले बनाउने आमसञ्चारसम्बन्धी ऐन, नियम र कानून सञ्चारमैत्री बनाउन आग्रह गरेको छ । बैठकले नेपाली भूमी लिपुलेक नाकाबाट व्यापार गर्ने छिमेकी मुलुक भारत र चीनबीच सहमति गरिएको प्रति भत्र्सना गरेको छ ।
सो अवसरमा विश्व प्रेस काउन्सीलको उपाध्यक्षमा निर्वाचित वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
बैठकको उद्घाटन नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए भने बैठकको समापनमा नेकपा (एकीकृत समाजावादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गरेका थिए ।

















