Skip

Hamro Sanchar

सुनको मुल्यमा नयाँ रेकर्ड, नाघ्यो २ लाख

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १३ गते


काठमाडौं । आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ।

आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो ।

यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो ।

त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज २३६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि उच्चतम हो ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य घटबढ हुन्छ, त्यसैगरी नेपाली बजारमा समायोजन हुँदै आएको छ’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३४ सय डलर नाघेको छ ।


प्रतिकृया दिनुहोस्