
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीयअधिकृत पुरुषोत्तम सुवेदी पालिकामा हाजिर भएका छन् ।
धादिङको नीलकण्ठ नगरपालिकाबाट सरुवा भएर आएका सुवेदीले आजदेखि कार्यभार सम्हालेका हुन् ।
प्रशासकीय अधिकृत सुवेदीलाई नगरप्रमुख उपेन्द्र कार्की, उप-प्रमुख शान्ता थापालगायत कर्मचारीहरुले खादा र माला लगाएर स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले कर्मचारीहरुलाई राजनीति नगर्न र कामसँगै अनुशासनमा ध्यान पुर्याउन निर्देशन दिए । सबैले तहगत जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिँदै उनले प्रक्रियागत ढंगले आएका कामहरु कुनै पनि बहानामा नरोक्न सुझाब दिए ।
यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जनताको काममा पर्खेर नबस्ने प्रतिवद्दता व्यक्त गरे ।
जनप्रतिनिधि र प्रशासनबीच नङ र मासुको सम्बन्ध हुनु पर्नेमा जोड दिँदै उनले कर्मचारीलाई कुनै समस्या भए आफुसँग आएर कुरा गर्न सुझाब दिए । दैनिक सेवा प्रवाहमा कुनै पनि समस्या हुन नहुने भन्दै उनले यहाँका समस्यासँग जनप्रतिनिधिको सुझावसहित कार्य सम्पादन गर्ने बताए ।
मोरङको बेलबारी घर भएका सुवेदीले २०५४ सालदेखि सरकारी सेवामा प्रवेश गरेका हुन् । नेपाल सरकारको उपसचिव भैसकेका प्रमुख प्रशासकीय अधिकृत सुवेदीसँग पर्यटन मन्त्रालय, सामान्य प्रशासन, गृह, भूमिसुधार मन्त्रालय, योजना आयोगमा लामो समय काम गरेको अनुभव छ ।
यस्तै स्थानीयतह अन्तर्गत दोलखा नगरपालिकाको कार्यकारी अधिकृत, मध्यपुरठिमी नगरपालिका, मेची नगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका, काभ्रेको धुलिखेल नगरपालिका हुँदै २ बर्ष ३ महिनाभन्दा बढी नीलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य सम्पादन गरेर सुवेदी कागेश्वरी मनोहरामा सरुवा भएर आएका हुन् ।













