
काठमाडाैं, साउन १६- काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको कागेश्वरी मनोहरा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घुम्ती शिविर सञ्चालन गरिरहेको छ । सामाजिक सुरक्षा भत्ता नियमावली २०७६ र सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ को आधारमा घुम्ती सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको हो ।
नगरपालिकाको सुचनामा भनिएको छ, “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको च.नं. ३३९ मिति २०८२/०३/३० गतेको प्राप्त पत्रानुसार विभागको मिति २०८१/१/१७ गतेको निर्णयानुसार विभागले सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको नविकरण तथा नयाँ निवेदन दर्ता गर्दा राष्ट्रिय परिचयपत्र नम्बर ( NIN) अनिवार्य गर्ने निर्णय भएको र सो नियम यस कागेश्वरी मनोहरा नगरपालिकामा समेत प्रत्येक वर्षको श्रावण १ गते बाट लागु हुने भएको छ । यस नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले ( अन्य जेष्ठ नागरिक, जेष्ठ नागरिक (दलित), जेष्ठ एकल महिला, विधवा, पूर्ण अपाङ्ग, आंशिक अपाङ्ग, दलित बालबालिका) आगामी आ.ब. ०८२/०८३ को लागि सामाजिक सुरक्षा भत्ता नविकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर (NIN) अनिवार्य MIS System मा Entry गर्नु पर्ने छ ।
राष्ट्रिय परिचयपत्र नम्बर (NIN)को आधारमा सामाजिक सुरक्षा भत्ता Biometric नविकरण हुने भएको हुँदा सबै सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुले मिति २०८२/०४/०५ गते देखि २०८२/०५/२० गते भित्र तपसिलमा उल्लेखित कागजपत्रहरुका साथ सम्बन्धित वडा कार्यालयमा वा आफूलाई पायक पर्ने सामाजिक सुरक्षा भत्ता नविकरण शिविरमा स्वयंम उपस्थित भई सामाजिक सुरक्षा भत्ता नियमित प्राप्त गर्नका लागि Biometric नविकरण अनिर्वाय गर्नु हुन अनुरोध छ । साथै हालसम्म राष्ट्रिय परिचयपत्र नम्बर ( NIN) नलिएका लाभग्राहीहरुले छिटो भन्दा छिटो राष्ट्रिय परिचयपत्र नम्बर ( NIN) लिई सम्बन्धित वडा कार्यालयमा वा आफूलाई पायक पर्ने नविकरण शिविरमा स्वयम् उपस्थित भई Biometric नविकरण अनिर्वाय गर्नु हुन अनुरोध छ। राष्ट्रिय परिचयपत्र नम्बर (NIN) को आधारमा नै सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको Biometric नविकरण हुने भएकाले यथाशिघ्र राष्ट्रिय परिचयपत्र नम्बर ( NIN) लिएर समयमै सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुले Biometric नविकरण अनिर्वाय गर्नु हुन अनुरोध छ अन्यथा सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको VERSE MIS System बाट स्वतः नाम नामेसीको लगतकट्टा हुने व्यहोरा समेत सबैमा जानकारी गराइन्छ ।”
नगरपालिकाका अनुसार लाभग्राहीहरूका निम्ति गाउँगाउँमै, घरघरमै सेवा दिन घुम्ती शिविर सञ्चालन गरिएको हो । घुम्ती शिविर साउन ४ गतेदेखि भदौ २२ गतेसम्मका लागि नगरपालिकाका ९ वटै वडामा सञ्चालन भईरहेको छ । नगरपालिकाका कर्मचारीहरुले कार्यालय समयबाहेक अहिले पनि बेलुका ५ बजे देखि ८ बजे सम्म विशेष घरदैलो शिविर संचालन गरिरहेका छन् ।
आफ्नो हेरचाह गर्न नसक्ने,अशक्त,असहाय वा ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुको भाद्र २२ गते पछि २८ गते सम्म सामाजिक सुक्षा तथा पञ्जीकरण शाखाका कर्मचारीहरु र सम्बन्धीत वडा कार्यालयका कर्मचारीहरु तथा जनप्रतिनिधिको रोहवरमा विशेष घर- दैलो नविकरण शिविर सञ्चालन हुने छ।
नगरपालिकाले गत साउन ४ गते देखि संचालन गरिरहेको सामाजिक सुरक्षा भत्ता नविकरण शिविरबाट हालसम्म वडा नम्बर ७, ८ र ९ बाट १०१५ जना सेवाग्राहीहरुले सेवा लिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एम.आई.एस अपरेटर श्रीराम खनालले हाम्रोसंचारलाई जानकारी दिए ।
शिविर हुने मिति :
वडा नं. ७, मिति २०८२/०४/०५ गते देखि २०८२/०४/०८ गते सम्म
वडा नं. ९, मिति २०८२/०४/११ गते देखि २०८२/०४/१४ गते सम्म
वडा नं. ८, मिति २०८२/०४/१५ गते देखि २०८२/०४/१९ गते सम्म
वडा नं. ६, मिति २०८२/०४/२० गते देखि २०८२/०४/२३ गते सम्म
वडा नं. ५, मिति २०८२/०४/२६ गते देखि २०८२/०४/२९ गते सम्म
वडा नं. ४, मिति २०८२/०५/०१ गते देखि २०८२/०५/०४ गते सम्म
वडा नं. ३, मिति २०८२/०५/५ गते देखि २०८२/०५/०८ गते सम्म
वडा नं. २, मिति २०८२/०५/९ गते देखि २०८१/०५/१३ गते सम्म
वडा नं. १, मिति २०८२/०५/१५ गते देखि २०८२/०५/१९ गते सम्म
Bio- Metric नविकरण गर्दा चाहिने आवश्यक कागजपत्रहरु:
१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२. एकल महिला हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्र प्रतिलिपि ।
३. पूर्ण अपाङ्गता तथा आंशिक अपाङ्गता भएका लाभग्राहीहरुको हकमा कागेश्वरी मनोहरा नगरपालिकाबाट जारी भएको अपाङ्गता कार्डको प्रतिलिपि ।
४. राष्ट्रिय परिचयपत्रको वा राष्ट्रिय परिचयपत्र आबेदन (Pre Enrollement form) फारमको प्रतिलिपि ।
५. हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति ।
६. बसाइसराइँ गरि आएको लाभग्राहीहरुको हकमा बसाइसराइँ प्रमाणपत्रको प्रतिलिपि ।
७. सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि ।






















