
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ मा रहेको श्री आनन्द भैरव माध्यमिक विद्यालयमा मन्टेसोरीमा पढ्ने बालबालिकाहरुलाई लक्षित गरेर बालबालिका खेल्ने प्ले स्टेसनको उद्घाटन भएको छ । आज नगरप्रमुख उपेन्द्र कार्कीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
प्ले स्टेसन नगरपालिकाको सहयोगमा निर्माण सम्पन्न भएको भने बाध्यबाधन संग्रहका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोग प्रदान गरेको हो । यस्तै आजै अण्डरग्राउण्ड रिजर्भ टंकी पनि उद्घाटन भएको छ ।
बाध्यबाधन संग्रहमा नेपाली संस्कृतिमा प्रयोग हुने लोकबाजा तथा सबै प्रकारका बाध्यबाधनका सामग्रीहरु रहेका छन् ।
बालबालिकाहरुको उमेर भनेको खेलेर सिक्ने भएकाले साना कक्षामा पढ्ने बालबालिकाहरुका लागि सुबिधा सम्पन्न प्ले स्टेसनको निर्माण गरेको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए । शिक्षा क्षेत्रको बिकासका लागी २०७९ साल मंसिरदेखि नगरपालिका र रातो बङ्ला स्कुल ललितपुरबिच साझेदारीमा सार्थक बाल सिकाइ कार्यक्रम सन्चालन भैरहेको स्मरण गराउँदै उनले नगरपालिकामा १५ वटा सामुदायिक विद्यालयमा सार्थक सिकाई कार्यक्रम संचालनमा रहेको बताए ।
उद्घाटन कार्यक्रममा शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शंकर थापा, प्रधानाध्यापक सरस्वती थापा कार्की तथा विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



















