Skip

Hamro Sanchar

मोन्टी देसाई काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २६ गते


काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को टोली काठमाडौं गोर्खाजले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

काठमाडौंले बिहीबार सामाजिक सञ्जालमार्फत देसाईलाई एनपीएलको दोस्रो संस्करणका लागि टिमको प्रशिक्षण जिम्मेवारी दिएको जानकारी दिएको हो ।

“नमस्ते नेपाल । मेरो मनमा नेपालका लागि सधैँ विशेष स्थान छ । नेपाली टिमसँग सहकार्य गर्न पाउनु सम्मानको कुरा थियो । अब एनपीएल सिजन–२ का लागि काठमाडौं गोर्खाजसँग नयाँ अध्याय सुरु भएको छ,” काठमाडौंले सार्वजनिक गरेको भिडियोमा देसाईले भनेका छन् ।

भिडियोको अन्त्यमा देसाईले नेपालीमै भनेका छन्, “त्रिवि क्रिकेट ग्राउन्डमा तपाईंहरू सबैलाई भेट्न एकदमै उत्सुक छु ।”

देसाई यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए । उनको प्रशिक्षणमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को गत सिजनमा शीर्ष चारमा स्थान बनाउँदै एकदिवसीय विश्वकप छनोट खेलेको थियो । त्यसैगरी, नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकप छनोटमा स्थान बनाउँदा पनि देसाई नै प्रशिक्षक थिए ।

काठमाडौंले अघिल्लो सिजन एनपीएलमा पाँचौँ स्थान हासिल गरेको थियो । त्यतिबेला टिमको प्रशिक्षण जिम्मेवारी वसन्त शाहीको जिम्मामा थियो ।

दोस्रो संस्करणको तयारीसँगै टिमले आफ्नो नाम पनि परिवर्तन गर्दै पहिलाको काठमाडौं गुर्खाजुबाट काठमाडौं गोर्खाजु राखेको छ ।


प्रतिकृया दिनुहोस्