Skip

Hamro Sanchar

इसिडी कक्षा सुधारका लागि कागेश्वरी मनोहरा र रातो बङ्लाबीच ५ बर्षे सम्झौता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २३ गते


काठमाडौं । शिक्षा क्षेत्रको बिकासका लागी कागेश्वरी मनोहरा नगरपालिका र रातो बङ्ला स्कुल ललितपुरबिच साझेदारीमा सार्थक बाल सिकाइ कार्यक्रम सन्चालन गर्न सम्झौता भएको छ ।

आगामी पाँच वर्षका लागि सीपमूलक शिक्षाको विकासका निम्ति विभिन्न तालिम तथा प्रविधिमा सहयोग आदान-प्रदान गर्न रातो बङ्ला फाउण्डेसनकी अध्यक्ष डा. शान्ता दिक्षित, रातो बङ्ला फाउन्डेसन काठमाडौंकी टीम लिड एलिना रंजित र नगरप्रमुख उपेन्द्र कार्कीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

इसिडी कक्षा सुधारका लागि सार्थक सिकाई कार्यक्रम अन्तर्गत गरिएको सम्झौतामा रातो बङ्ला स्कुलले ४० प्रतिशत र नगरपालिकाले ६० प्रतिशत रकम बेहोर्ने उल्लेख गरिएको छ ।

नगरपालिकामा १५ वटा सामुदायिक विद्यालयमा सार्थक सिकाई कार्यक्रम संचालनमा छ । २०७९ साल मंसिरदेखि रातो बङ्लासँगको सहकार्यमा उक्त कार्यक्रम अघि बढेको हो । सामुदायिक विद्यालयहरुमा रहेका प्रारम्भिक उमेरका बालबालिकासँग प्रत्यक्ष जोडिने शिक्षक शिक्षिकाहरुलाई सार्थक बाल सिकाई कार्यक्रम अन्तर्गत तालिम प्रदान गरिन्छ । कक्षा कोठाहरु पनि बालमैत्री हुन्छन् भने परम्परागत शिक्षा प्रणालीलाई चिर्दै ब्यबहारिक शिक्षा जोड दिन्छ ।

बालबालिकाको मनोभावना बुझ्ने शारीरिक, मानसिक वृद्धिलगायत धेरै ज्ञान थिएन । त्यहि पुरानो प्रक्रिया पढाउने, लेखाउने होमवर्क दिने मात्र काम हुन्थ्यो तर यस्तो कार्यक्रम संचालन भएसँगै शिक्षकहरुमा पनि धेरै परिवर्तन आएको छ । बालबालिकाको भाव बुझेर, बच्चाहरुको दिमाग चेतना बुझेर शिक्षण गराइरहेको छन् । त्यहि कार्यक्रम अन्तर्गत बालबालिकाहरुले सामग्री प्रयोग गरेर आफ्नो पठनपाठन अगाडी बढाउन पाएका छन् ।

यस कार्यक्रमले सैदान्तिक शिक्षालाई परिमार्जन गर्दै प्रयोगात्मक शिक्षाले यस कार्यक्रमलाई प्रोत्साहन गरेकोले सामुदायिक विद्यालयहरुमा पनि बालबालिका लागि उचित वातावरणसहित गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित भएको नगरप्रमुख उपेन्द्र कार्कीको भनाई छ ।

विद्यार्थीले सैद्धान्तिक रुपमा किताबी ज्ञान मात्र पाएर हुँदैन भन्दै प्रमुख कार्कीले भने,‘ त्यो सँगै चरित्रवान, सीपयुक्त र युग सुहाउँदो हुन आवश्यक छ, त्यसका निम्ति नविन प्रविधिको उच्चतम प्रयोग र सीपमूलक शिक्षामा जोड दिइरहेका छौं । यसकै लागि रातो बंगलासँगको सम्झौता गरिएको हो ।’

अझै ५ बर्ष वर्षसम्म रातो बङ्ला फाउण्डेसनले प्रविधि र सीप विकासमा सहजिकरण गर्ने प्रमुख कार्कीले बताए ।

के हो रातो बंगला फाउण्डेसन ?

रातो बङ्गला फाउण्डेसन संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरमा २०५९ सालमा दर्ता भएको मुनाफारहित गैरसरकारी संस्था हो । यसले स्थापना कालदेखिनै गुणस्तरीय शिक्षाका लागि विभिन्न शैक्षिक तालिम तथा कार्यक्रमहरु सञ्चालन गदै आएको छ । यस फाउण्डेसनले नेपालमा विभिन्न भुभागमा रहेको विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्न सहयोगी भुमिका खेल्दै आएको छ । मुख्यतः यस फाउण्डेसनले विद्यालय शिक्षा र बालबालिकालाई केन्द्रविन्दुमा राखेर गर्नुपर्ने काम जस्तै शिक्षक तालिम, अविभावक शिक्षा, शैक्षिक सामग्री सहयोग कक्षा कोठा व्यवस्थापन, विद्यालय तथा बालबालिका सुरक्षा सम्बन्धि विविध कार्यक्रम, विद्यालय आयआर्जन कार्यक्रम लगायतका अन्य विविध विद्यालय व्यवस्थापन साथसाथै विद्यालय शिक्षाको गुणस्तर सुधार सम्बन्धि कार्यक्रमहरु गदै आएको छ । यसै अवधिमा सन् २०१२ मा फाउण्डेसनले unesco Humdan Bin Rashid AlMaktoum Award for The outstanding Pracices and Performance in Enhancing The Effectiveness of Teacher समेत पाएको छ । हाल यस फाउण्डेसनले शिक्षकको पेसागत विकास सम्बन्धि विविध तालिम कार्यक्रम, प्रारम्भीक बालबिकास सम्बन्धि तालिम तथा सहयोग लगायतका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमोदन गरेको विद्यालय क्षेत्र विकास योजनालाई सहयोग पुग्ने शिक्षा सम्बन्धी अन्य विवधि क्रियाकलापहरु गदै आइरहेको छ ।


प्रतिकृया दिनुहोस्