Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

साम्बा चम्किदा १००औँ अन्तर्राष्ट्रिय खेलमा नेपालको सानदार जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १५ गते


Advertisement

काठमाडौं । कप्तानी पाएको पहिलो खेलमा सावित्रा भण्डारी (साम्बा)ले चार गरेपछि एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय महिला टिमले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा लाओसविरुद्ध ९–० को फराकिलो जित निकालेको छ।

आइतबार उज्वेकिस्तानको तास्केन्तमा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन कप्तान सावित्रा एक्लैले चार गोल गरिन् ।

यस्तै, अनिता बस्नेत, सरु लिम्बू, रश्मीकुमारी घिसिङ र अनिता केसीले समान एक गोल थपे । नेपालले अर्को एक गोल भने लाओसबाट आत्मघाती उपहार पाएको थियो ।

पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा सात गोल गर्‍यो ।

आजको खेलमा नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले कप्तानी जिम्मेवारी सावित्रालाई सुम्पिएका थिए । योसँगै सावित्रा नेपाली महिला टिमको इतिहासमा कप्तानी सम्हाल्ने ११औँ खेलाडी बनेकी छन् ।

लाओसविरुद्ध खेल्ने नेपालको सुरुआती–११ मा यसअघि नियमित कप्तान रहेकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले स्थान बनाउन सकिनन् । उनको स्थानमा अञ्जना पहिलो रोजाईमा उत्रिएकी थिइन् ।

छनोटमा नेपाली टिम समूह ‘एफ’ मा छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । नेपालले जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यस समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ । छनोटबाट समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाउने छ ।


प्रतिकृया दिनुहोस्