१६ असोज, काठमाडौं । नेकपा एमालेले बालेन सरकारको पछिल्लो कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएको छ।
प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारका गतिविधि लोकतान्त्रिक अभ्यास र संसदीय प्रक्रियाअनुकूल नभएको आरोप लगाएका हुन् ।
आजको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै थापाले सरकारको पछिल्लो गतिविधिलाई ‘फासीवादी शासन’सँग तुलना गरेका हुन् ।
सत्तापक्षले संसद्मा आफ्नो बहुमतको बल प्रयोग गर्दै प्रतिपक्षका सुझावलाई बेवास्ता गरेको उनको दाबी थियो।
सरकारले ल्याएका विभिन्न विधेयकमा प्रतिपक्षको धारणा समेट्नेभन्दा आफ्नै निर्णय अघि बढाउने प्रवृत्ति देखिएको थापाले बताए।
लोकतान्त्रिक व्यवस्थामा विधि निर्माण संवाद र सहमतिमा आधारित हुनुपर्नेमा सङ्ख्याको बलमा विधेयक पारित गर्ने काम भइरहेको उनको आरोप थियो।
थापाले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाए। राजनीतिक दलहरूबीच सहमति निर्माणका लागि सभामुखबाट पर्याप्त पहल हुन नसकेको उनको भनाइ थियो।
यद्यपि पछिल्लो समय सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्न खोज्नु र सत्तापक्षकै केही सांसदले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु सकारात्मक संकेत भएको उनले बताए।































