Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

⁠राष्ट्रसंघमा नेपालको आवाजबारे संसद्लाई परराष्ट्रमन्त्रीको ब्रिफिङ, के भने ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १६ गते


Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिता र प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमणबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्।

आज संसद् बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्ने क्रममा नेपालजस्ता मुलुकले भोगिरहेको जलवायु संकट र जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रमुखताका साथ उठाएको बताए।

उनका अनुसार प्रधानमन्त्री शाहले भोटेकोसी बाढीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन तथा जलवायु संकटसँग जुध्न अन्तर्राष्ट्रिय समुदायले साझा जिम्मेवारी लिनुपर्नेमा जोड दिएका थिए।

असोज ६ देखि १० गतेसम्म अमेरिकाको न्युयोर्कमा भएको महासभाका विभिन्न उच्चस्तरीय सत्र तथा द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको खनालले संसद्लाई जानकारी दिए।

महासभा सम्बोधनका क्रममा नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाइएको उनले बताए।

हिमालय क्षेत्रमा हिमनदी पग्लिँदा हिमपहिरो, बाढी तथा पहिरोको जोखिम बढेको उल्लेख गर्दै पूर्वसूचना प्रणालीको विकास र सीमापार समन्वय आवश्यक रहेको विषय पनि प्रधानमन्त्री शाहले राखेको खनालले बताए।

महासभाकै क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता गरेको जानकारी पनि संसद्लाई गराइएको छ।

परराष्ट्रमन्त्री खनालले आफ्नो नेतृत्वमा समेत महासभाका क्रममा विभिन्न ८० वटा कार्यक्रम तथा द्विपक्षीय बैठकमा सहभागिता जनाएको बताए। उनले नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट थप सहयोगको अपेक्षा रहेको पनि संसद्लाई जानकारी गराए।

 


प्रतिकृया दिनुहोस्