Skip

Hamro Sanchar

कागेश्वरी मनोहराद्धारा मेलमिलाप सम्बन्धि ४८ घण्टे तालिम सुरु, ८ दिनसम्म चल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ७ गते


काठमाडौं, चैत ८- मेलमिलापको अभियानलाई प्रभावकारी बनाउन कागेश्वरी मनोहरा नगरपालिकाद्धारा मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत आवाशीय तालिम सुरु भएको छ ।

नगरपालिकाको न्यायीक समितिको आयोजनामा बिहिबारदेखी धुलिखेलको एक होटलमा सुरु भएको हो । आठ दिनसम्म चल्ने उक्त (४८ घण्टे) आधारभूत आवाशीय तालिमको कार्यवाहक नगर प्रमुख तथा न्यायिक समिति संयोजक शान्ता थापाले उद्घाटन गरेकी हुन् ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेकी कार्यवाहक नगरप्रमुख थापाले तालिममा सहभागीलाई आ-आफ्नो वडामा तालिमबाट सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न आग्रह गरिन् । तालीमबाट नगरपालिकाले दक्ष मेलमिलापकर्ता प्राप्त गर्ने उनले बताइन । मेलमिलाप कर्ताले कानुनलाई टेकेर दण्डित पनि गर्नुपर्ने भन्दै प्रशिक्षण पछि बिबाद समाधानमा उल्लेखनीय भूमिका निर्वाह गर्ने उपप्रमुख थापाले बिश्वास ब्यक्त गरिन् ।

‘शान्तिका लागि सहकार्य संस्था’ले तालिम प्रदान गरेको छ । संस्थाकी सचिव तथा प्रमुख प्रशिक्षक रमिला हुमागाईंले  तालिमबाट सिकेर जाने सहभागीहरुले न्यायीक समितिले सम्पादन गर्ने कामहरुको गहन रुपमा बुझेर जान सहभागीहरुसँग आग्रह गरिन् ।

कार्यक्रममा मेलमिलाप कानुनी सल्लाकार अष्टलाल श्रेष्ठले नीतिगत कुराहरु, समितिका दायरा र न्यायिक समितिले गर्न सक्ने बिषयहरु राखेका थिए ।

भने न्यायिक समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष विजय श्रेष्ठ (घन)ले स्थानीय तहमा न्याय निरुपण गर्नका निम्ति आवश्यक जनशक्ति उत्पादन गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

न्यायिक समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष विजय श्रेष्ठ (घन)को अध्यक्षतामा उद्घाटन गरिएको तालिम न्यायिक समितिका सदस्यहरु, नगर सदस्यलगायत कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

न्यायिक समितिका रहेकाहरुलाई प्रशिक्षण अवधिभर रिसोर्टमै राखिने छ ।

उद्घाटन कार्यक्रममा न्यायिक समिति सदस्य आत्माराम पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमलाई न्यायिक समिति उजुरी प्रशासक मकरध्वज केसीले संचालन गरेका थिए ।

सामान्यतया जुनसुकै बिषयमा झगडा, बिबाद र द्वन्द्व भएमा अदालतमा पुगेर मुद्धा दायर गर्ने र लामो समयपछि अदालती प्रकृयाबाटै हारजीत मार्फत छिनोफानो गर्ने पुरानो चलन हो । तर छोटो समय, बिबाद कम गर्दै बिबादित पक्षलाई समेत मेलमिलापमा लैजाने र दुवै पक्षलाई जीत-जीतको तहमा लैजाने प्रकृयाको रुपमा नेपालमा सामुदायिक मेलमिलाप शुरु भएको छ ।


प्रतिकृया दिनुहोस्