Hamro Sanchar

मनोहरा खोला आसपासमा नगरपालिकाले चलायो डोजर, झन्डै ५० अव्यवस्थित बंगुर फार्म हटाइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २२ गते


काठमाडौं, फागुन २२- पटक-पटक आग्रह गर्दा पनि ब्यबसायीले बंगुर फार्म हटाउन नमानेपछि कागेश्वरी मनोहरा नगरपालिकाले मनोहरा खोला आसपासमा डोजर चलाएको छ ।

पटक-पटक सुँगुर तथा बंगुर फार्म हटाउन निर्देशन दिएपनि ब्यबसायीले अवज्ञा गरेका थिए । बिहिबार बिहान सयभन्दा बढीको संख्यामा नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि तथा स्थानीयहरुको बाक्लो उपस्थितिमा मनोहरा खोला आसपासका झन्डै ५० वटा अवैध र अव्यवस्थित बंगुर फार्म डोजर लगाएर भत्काइएको हो ।

नगरपालिकाको वडा नम्बर-५ स्थित पेप्सीकोला-ब्रमखेल सडक क्षेत्रको पुर्व अर्थात् मनोहरा खोलाको आसपासमा अव्यवस्थित रुपमा दर्जनौं सुँगुर तथा बंगुर फार्म, हाँस फार्म र कुकुर पालन संचालनमा रहेका थिए ।

स्थानीयले बंगुर फार्मले त्यस क्षेत्रभित्र फाेहाेर तथा प्रदूषण बढाएको र स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बन्द गर्न माग गरेका थिए । त्यसलगत्तै वडा कार्यालयले गत बर्षको साउन ९ गतेदेखि नै त्यस्ता अबस्थित फार्म हटाउन पटक-पटक निर्देशन दिँदै थियो । पछिल्लो पटक भदौ ९ गते पनि वडा कार्यालयले १५ दिनको समय दिएर अन्यत्र नसारे स्थानीय सरकार संचालन ऐनअनुसार कारबाही गरिने चेतावनी दिएको थियो तरमहिना दिन पुग्दा पनि ब्यबसायीले कुनै चासो नदिएपछि वडाअध्यक्ष शंकर पाण्डेसहित जनप्रतिनिधि, पशु शाखाका प्रमुख, स्वास्थ्य शाखा, विपद ब्यबस्थापन, जनपद प्रहरी र नगर प्रहरीसहितको टोली माइकिङ गर्दै त्यस स्थानमा पुगेको थियो ।

स्थानीय सरकारको सूचना र निर्देशन अवज्ञा गरेका ब्यबसायी ब्यबसाय गर्न पाउनुपर्ने भन्दै अदालतसम्म  पुगेका थिए । तर अदालतले स्थानीयलाई असर पर्नेगरी ब्यबसाय नगर्न र अन्यत्रै स्थानमा सार्न आदेश दिएको थियो ।

त्यस क्षेत्रमा ब्यबसायीहरुले सुँगुर तथा बंगुर फार्महरु बिनादर्ता अवैधानिक ढंगले संचालन गरिरहेका थिए ।

पटक-पटक आग्रह गर्दा पनि ब्यबसायीले बंगुर फार्म हटाउन नमानेपछि डोजर चलाउनु परेको वडाअध्यक्ष शंकर पाण्डेले बताए ।

बंगुर पालनले त्यस क्षेत्र वरपर दुर्गन्ध फैलाई वातावरण प्रदुषण भै स्थानीय बासिन्दाको जनजीवनमा प्रत्यक्ष असार परिरहेका र त्यस्ता फार्महरुबाट उत्पन्न हुने फोहोरमैलाले बालीनाली र उब्जनीमासमेत कमी आएको अध्यक्ष पाण्डेको भनाई थियो ।

अव्यवस्थित बंगुरपालनले फोहोर र प्रदूषण मात्र बढाएको थिएन, राज्यले प्राप्त गर्नुपर्ने राजस्व पनि गुमेको वडा अध्यक्ष पाण्डे बताउछन् । “बस्ती नजिकै बंगुरपालन गरिरहेका छन् । सबैजसो फार्म बिनादर्ता अवैध रुपमा संचालन छन् । जसकाकारण राज्यले प्राप्त गर्नुपर्ने राजस्व पनि गुमेको छ । मनोहरा खोलामा फोहर तथा ढल सिधै हाल्ने गरेका छन् । यसले खोलाको पानी प्रदुषित भइरहेको छ । दुर्गन्ध त्यस्तै आउँछ । घर बाहिर र आवतजावत गर्न समस्या हुन्छ” हाम्रोसंचारसँग उनले भने ।

खोला नजिक संचालन गरेको व्यवसायिक बंगुरपालनले खोलामात्रै प्रदुषित भएको छैन बस्तीसमेत दुर्गन्धको चपेटामा परेको स्थानियले गुनासो गरेका छन् । जसका कारण हरेक वर्षे याममा स्वाईन फ्लुको त्रास बढ्ने गरेको छ । “दुर्गन्धले हामीलाई पनि समस्या छ नि, खोलाको प्रदुषित भएको छ । बाटो हिड्दा मुख छोपेर हिड्नु पर्छ, एक स्थानीय महिलाले भनिन् ।”

दुर्गन्धका कारण कहिले बिरामी परिने हो भन्ने चिन्तासमेत लाग्ने गरेको उनले बताइन् ।

नगरपालिकाको वडा नम्बर ५ बाहेक ४ र ६ का केहि स्थानमा पनि व्यावसायिकरूपमा बंगुर फार्म सञ्चालनमा छन् । सरकारको नियमानुसार पनि यस्ता बंगुर फार्म सम्बन्धित पालिकासँग अनुमति लिएर व्यवसाय दर्ता गर्दै बस्तीको बीच वा बस्ती नजिक नभई बस्तीभन्दा टाढा सञ्चालन गर्न पाइने व्यवस्था छ । नगरपालिका क्षेत्रमा मानव बस्ती आसपासमा अधिकांश फार्म सञ्चालनमा रहेको स्थानियको भनाई छ ।

यो पनि पढ्नुहोस्- बंगुर फर्म हटाउन अन्तिम सूचना : वडा कार्यालयले दियो सात दिनको म्याद

यो पनि पढ्नुहोस्- मनोहरा खोला आसपासमा संचालित बंगुर फार्म नहटाएपछि प्रहरी लिएर पुग्यो वडाको टोली

यो पनि पढ्नुहोस्- मनोहरा खोला आसपासमा संचालित बंगुर फार्म १५ दिनभित्र हटाउन निर्देशन


प्रतिकृया दिनुहोस्