
काठमाडौं, कात्तिक ४- कागेश्वरी मनोहरा नगरपालिकाले पढाउने शिक्षकहरूको बैंक सञ्चालनमा ल्याएको छ ।
नगरपालिका भित्रका सार्वजनिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षकको संख्या कम भै शिक्षण सिकाइ कार्यमा बाधा पर्न गएको समस्यालाई मध्येनजर गर्दै नगरपालिकाले शिक्षक बैंक सुरू गरेको हो ।
नगरपालिकाले शिक्षक बैंक (स्थापना र ब्यबस्थापन) कार्यविधि २०८१ बमोजिम इच्छुक, दक्ष र योग्य नागरिकलाई शिक्षणसिकाई कार्यमा सहभागी गराई शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक स्वयंसेवक/आंशिक/सट्टा शिक्षकको रुपमा नियुक्त गर्ने प्रयोजनका निम्ति शिक्षक बैंक स्थापना गरेको शिक्षा शाखाका प्रमुख पुष्पराज ढकालले जानकारी दिए ।
नगरपालिकाले शिक्षक बैंकको लागि सूचिकृत हुन योग्यता भएर बसेका व्यक्तिहरुलाई लक्षित गरेर सूचना आह्वान गरेको छ । योग्यता पुगेका उम्मेवारले १५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ ।
नगरपालिकामा १६ वटा सामुदायिक विद्यालय छन् भने ५० हजारभन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।
ती सामूदायिक विद्यालयहरूमा शिक्षक अभावको बेला पूर्ति गर्न र नियमित अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि शिक्षक बैंकमार्फत् शिक्षक परिचालन गर्ने कार्यक्रम नगरपालिकाले बनाएको नगरप्रमुख उपेन्द्र कार्कीले बताए । शिक्षक ब्यबस्थापन र सो कार्यक्रम संचालनका लागि नगरपालिकाले चालु आवको लागि करिव एक करोड खर्च गर्ने योजना बनाएको छ ।
‘जुनसुकै विद्यालयमा शिक्षक आवश्यकता पर्ने वित्तिकै ‘फास्ट ट्रयाक’ विधिबाट शिक्षक सप्लाई गर्न सकिने यो कार्यक्रम मुलुककै नमूना कार्यक्रम हो, यो नयाँ अवधारणा र नयाँ प्रयोग पनि हो, यो विधिलाई कार्यान्वयन गर्दा कुनैपनि विद्यालयमा एकदिन पनि शिक्षक खाली हुने अवस्था आउँदैन,’ नगरप्रमुख कार्कीले भने ।
शिक्षक बैंकमा रहेर अध्यापन गर्ने शिक्षकहरुले तहअनुसार दैनिक ज्यालादारीको हिसाबले पारिश्रमिक प्राप्त गर्न सक्छन् ।
यसरी हुन सकिन्छ सुचिकृत :