काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ मा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ।
क्यानले विज्ञप्ति जारी गरी एनपीएलमा सहभागी हुने ८ टोलीको नाम सार्वजनिक गरेको हो। देशका ८ स्थानलाई प्रतिनिधित्व गर्दै टोलीको नाम राखिएको छ।
काठमाडौँमा हुने एनपीएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम टोली सहभागी हुने क्यानले जनाएको छ। एनपीएल मंसिर १५ देखि पुस ६ सम्म हुनेछ।
क्यानले यसअघि भारतीय कम्पनीलाई जिम्मा दिँदै नेपाल टी-२० लिग आयोजना गरेको थियो।
स्पट फिक्सिङलगायतका आलोचना र विवादमा परेपछि क्यानले पहिलोपटक आफैँले फ्रेन्चाइज लिग आयोजना गर्न लागेको हो।