Hamro Sanchar

उत्तेजनाको राजनीति नगर्न प्रचण्डलाई गगनको आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १३ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका छन् ।

आज प्रतिनिधिसभामा विशेष समयमा लिएर बोल्दै उनले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले नेपाल बंगलादेश वा श्रीलंकाजस्तो हुन सक्छ भनेर उत्तेजनाको राजनीति गर्न नहुने बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रचण्डले नेपालमा पनि बंगलादेश र श्रीलंकामा जस्तै विद्रोह हुन सक्ने अभिव्यक्ति दिएका थिए ।

महामन्त्री थापाले प्रतिपक्षी दलको नेता पनि यही प्रणालीको अंग हो भन्दै उसले आफ्नो जिम्मेवारी भुल्न नहुने बताए ।

उत्तेजनाको राजनीति गर्न सजिलो हुने भन्दै थापाले तर एक पटक आगो सल्काएपछि त्यसले आफैंलाई पनि जलाउन सक्छ भन्ने हेक्का राख्न प्रचण्डलाई आग्रह गरे ।

उत्तेजनाको राजनीति बिक्छ भनेर अरु नेताहरुले पनि त्यसको सिको गरेको भन्दै महामन्त्री थापाले यो बढ्दै गएमा सम्हाल्न नसकिने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा रहेको भ्रष्टाचारसम्बन्धी विधेयकमा रहेको हदम्यादको विषयमा पनि उत्तेजनाको राजनीति भइरहेको उनले बताए ।

उक्त विधेयकमा भ्रष्टाचार मुद्दामा थाहा पाएको ५ वर्षभित्र मुद्दा चलाउने विषय उल्लेख छ । थापाले उक्त विषयमा धेरै सांसदहरुको संशोधन प्रस्ताव रहेको र राज्य व्यवस्था समितिमा छलफल भइरहेको भन्दै यो बेलामा अनावश्यक उत्तेजना फैलाउन नहुने बताए ।

केही दिनअघि रास्वपा सभापति रवि लामिछानेले भ्रष्टाचारमा हदम्यादको प्रस्ताव ‘अरुले पारित गर्न खोज्दैछन्, तर मेरो लासमाथि टेकेर भए पनि म रोक्छु’ भन्ने अभिव्यक्ति दिएको भन्दै थापाले आलोचना गरेका छन् ।


प्रतिकृया दिनुहोस्