Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

थासाङ हिमपहिरो : थुनिएको बोक्सेखोला बग्न थाल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १२ गते


Advertisement

म्याग्दी । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ खसेको हिमपहिरोले पूर्णरूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सेखोला बग्न थालेको छ।

मुस्ताङको थासाङ गाउँपालिका(२ स्थित मुलखर्कबाट बोक्सेखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि बुधबार बिहानदेखि बग्न थालेको हो। थासाङ(२ का वडाध्यक्ष गौतम शेरचनले बिहानदेखि थुनिएको ठाउँबाट खोला बग्न थालेको बताए।

‘मंगलबार साँझ ५ः४५ बजेतिर खसेको हिउँपहिरो थुप्रिएर बोक्सेखोला पूरै सुकेको थियो’, उनले भने, ‘सामान्य अवस्थाको तुलनामा आधा जति बगेको खोलामा विस्तारै पानीको मात्रा बढ्दै गएकाले तटीय क्षेत्रमा सतर्कता अपनाएका छौँ।’

खोँचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर विस्तारै बग्न थालेको शेरचनले बताउनुभयो। तटीय क्षेत्रका नौवटा घरलाई राति सुरक्षित ठाउँमा सारिएको थियो। पाखो र खोला किनारमा थुप्रिएको हिउँ पहिरोले मानवीय र भौतिक क्षति नगरेको थासाङ गाउँपालिका(२ का वडा सदस्य भीमप्रसाद थकालीले जानकारी दिए।

बोक्सीखोलाको मूलखर्कदेखि तल करिब एक किलोमिटरसम्म हिउँपहिरो थुप्रिएको छ। सो ठाउँमा यही भदौ ७ गते दिउँसो पनि हिउँ पहिरो खसेको थियो। हिउँ पहिरोले थुनिएको बोक्सेखोला तीन घण्टापछि बग्न थालेको थियो। यसअघिकै हिउँको थुप्रो पग्लिएर नसकिँदै पुनः पहिरो आएर हिउँ थपिएको हो।

बोक्सीखोला कालीगण्डकीको सहायक खोला हो। तीनवटा ठाडो खोला मिसिएर बोक्सीखोला बग्छ। आसपासमा बस्ती नभए पनि बेनी(जोमसोम सडक बोक्सेखोलामा पर्छ। थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन, वडाध्यक्ष शेरचनसहित सुरक्षाकर्मीको टोलीले हिउँपहिरो थुप्रिएको ठाउँको निरीक्षण गरेका थिए।

यसअघि २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका(२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले १५० भन्दा बढी चौँरीगाई मरेका थिए। पछिल्लो हिउँपहिरोबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासनले जनाएको छ।


प्रतिकृया दिनुहोस्