पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेल पाल्पा पुगेका छन्।
रणउजिरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार राष्ट्रपति पौडेल पाल्पा गएका हुन्।
जात्रा अवलोकनका लागि संस्कृति तथा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, रक्षामन्त्री मानवीर राई पनि पाल्पा पुगेका छन्।
पाल्पामा राष्ट्रपति र मन्त्रीहरूलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलगायतले स्वागत गरेका छन्।
तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गर्छ।
लुम्बिनी सरकारले पाल्पामा मंगलबार सार्वजनिक बिदा दिएको छ।
नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको दोस्रो दिन यहाँ धुमधामका साथ विजय उत्सव स्वरुप रणउजिरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहँदै आएको छ।
कर्णेल उजिर सिंह थापाले विक्रम सम्बत १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा मनाइँदै आइएको छ ।