Hamro Sanchar

एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २ गते


Advertisement

काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०र८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९र८० को तुलनामा १६.५ प्रतिशत धेरै हो।

नेपाल राष्ट्र बैंकको यो आंकडा अनुसार यस आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । आव २०७९र८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३।९ प्रतिशत धेरै भित्रिएको थियो ।

यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाहले भने कीर्तिमान बनाएको हो । एक वर्षमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६० हजार १०३ रहेको छ ।

यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए ।


प्रतिकृया दिनुहोस्