Hamro Sanchar

दूध बेचेर महिनामा एक लाखको आम्दानी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १९ गते


Advertisement

­दाङ । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरूपमा लागेका घर्तीले साथीहरूसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन्।

मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’का अध्यक्ष रहेका घर्तीले भने, भैँसी र बङ्गुरपालन गरेर राम्रै आम्दानी भइरहेको छ ।

घोराही उपमहानगरपालिका–७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिकरूपमा पशुपालन गर्दै आएका उनले दूध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेको बताए । उनको फार्ममा १८ भैँसी र २५ बङ्गुर रहेका छन् ।

उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको घर्तीले बताए । दूध बिक्री गर्न समस्या छैन । फार्मबाटै विद्यालय र डेरीमा जाने गरेको छ, उनले भने । दैनिक ४५ देखि ५० लिटरसम्म दूध बिक्री भइरहेको घर्तीले बताए । फार्ममा कम्तीमा ४० भैँसी र जर्सी गाईसमेत थप गर्ने उनको योजना छ ।

बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको घर्ती बताउँछन् । दूध प्रतिलिटर ७० मा बिक्री हुने गर्दछ ।

भैँसीपालनसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउँछन् । त्यसका लागि उनी थप संरचना निर्माण गर्ने तयारीमा छन् ।

व्यावसायिक रुपमा दूध र मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब एक करोड ५० लाखसम्म लगानी भइसकेको चौधरीले बताए । फार्ममा तीन जनाले रोजगारी पाएका छन् ।

पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायत घाँसखेती समेत गरिएको छ । रासस


प्रतिकृया दिनुहोस्