
काठमाडौं, साउन १६- काठमाडौंको बल्खुमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढीले बगाउँदा बल्खु खोलामा प्रहरीले एक जनाको शव फेला पारेको हो ।
काठमाडौं उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बल्खुमा एक जनाको शव भेटिएको पुष्टि गरे । उनको बाढीमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शवको सनाखत हुन भने बाँकी छ ।
गएरातिको अविरल वर्षाले काठमाडौं उपत्यकाका तीन जिल्लामा विभिन्न नदी तथा खोलाहरूमा बाढी आएको छ । बागमती, हनुमन्ते, गोदावरी, मनोहरा खोलामा आएको बाढीले नदी आसपासका सडक अवरुद्ध भएको छ भने किनारका बस्तीमा पानी पसेको छ ।
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले जगाती, सल्लाघारी बाराहीस्थानका सयौं घर डुवानमा परेका छन् ।
त्यस्तै बागमती नदीको जलसतह ललितपुरको खोकनामा खतराको तह पार गरेको छ । पछिल्लो १२ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भारी वर्षा मापन भएको छ ।


















