
काठमाडौं, असार २९- कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित विद्या आर्जन माध्यमिक विद्यालय नगरकै सर्वोत्कृष्ट विद्यालय बन्न पटक पटक सफल भएको छ ।
२०८० सालको एसईई परीक्षामा ३.७२ औषत उपलब्धि स्तर (जीपीए) नतिजा ल्याएर नगरकै सर्वोत्कृष्ट विद्यालय बनेको हो ।
२६ जना सम्मिलित परीक्षामा सन्दिप थापाले ४ जिपिए प्राप्त गरेका छन् । यसैगरी ८ जनाले ३.९ भन्दामाथि जिपिए ल्याएका छन् । ३.६ जिपिए भन्दामाथि अर्थात् A+ जम्मा १९ जना र ३.२ भन्दामाथि अर्थात् A ७ जना विद्यार्थीले ल्याएका हुन् ।
यसअघि २०७४ र २०७८ सालमा पनि नगरपालिकाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल विद्या आर्जनलाई नगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको थियो ।
अनुशासित विद्यार्थी, योग्य एवं अनुभवी शिक्षक, लगनशील कर्मचारी, दक्ष व्यवस्थापक साथै सहयोगी अभिभावकज्यूहरूको संयुक्त प्रयासले नै यो उपलब्धि हासिल गरेको कुरा विद्यालयका प्रधानाध्यापक घनेन्द्र भट्टराईले बताए । फेरि पनि नगरकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएकोमा निकै खुसी लागेको र यसले अझ बढी जिम्मेवार बनाएको प्रधानाध्यापक भट्टराईको भनाई छ । उनले भने, ‘विद्यालयलाई हरेक वर्ष उत्कृष्ट बनाउने हाम्रो लक्ष्य रहनेछ ।’
उनले ‘उत्कृष्टताको निरन्तरता’ भन्ने नारालाई विद्यालयले कायम गर्न सफल भएको बताए । प्राप्त उपलब्धिको निरन्तरतामा आफूहरु कटिबद्ध भएर लागेको उनको भनाइ छ । वर्षौदेखिको अथक प्रयास परिणाममुखी बन्दै गएकोमा हामीलाई थप हौसला मिलेको उनले बताए ।
२०४८ सालमा स्थापित यो विद्यालयले दिनानुदिन प्रगति गर्दै गरेको र आगामी दिनहरूमा पनि विद्यालयको गरिमालाई जोगाई राख्न साथै यस क्षेत्रकै शैक्षिक केन्द्रका रुपमा स्थापित गर्न कटिबद्ध भएर लागेको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश दाहालले बताए ।


















