Hamro Sanchar

विश्वकपबाट फर्किएपछि सन्दीपले भने- लामो समयपछि खेल्दा डेब्यू गरे जस्तो लाग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ९ गते


Advertisement

काठमाडौं, असार ८- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले लामो समयपछि क्रिकेट मैदानमा पाइला राख्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको बताएका छन् । आईसीसी टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने शनिबार दिउँसो स्वदेश फर्कने क्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

क्रिकेट टोली स्वदेश फर्किएको ३ दिनपछि सन्दीप शनिबारमात्रै नेपाल आइपुगेका हुन् । उनले विश्वकपको अनुभव सेयर गर्दै भनेका छन्, ‘धेरै लामोसमयपछि क्रिकेटमा पाइला राख्दा आफैँले डेब्यू गरेजस्तो लाग्यो ।’ उनले आफ्नो विश्वकपको अनुभव मेमोरेबल (सम्झनलायक) रहेको पनि सुनाए ।

‘हामी विश्वकपको यात्रामा कहाँ निर चुक्यौँ भन्ने हामी सबैलाई थाहा छ । त्यो धेरै कोट्याइराख्नुपर्ने जरुरी मलाई लागेको छैन । हामीले अझै धेरै गर्नुपर्नेछ,’ लामिछानेले भने । उनले बाहिर बसेर बोल्नुजति सहज खेल्न नहुने पनि बताए ।

 


प्रतिकृया दिनुहोस्