Hamro Sanchar

एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २८ गते


Advertisement

काठमाडौं, जेठ २८- माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको हो ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए ।

उनले कार्ययोजना अनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताए । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिए ।

गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको हो ।

गत चैत १५ गतेदेखि सुरु भएको यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।


प्रतिकृया दिनुहोस्