Hamro Sanchar

तत्काल एमालेसँग एकताको सम्भावना देखिएन : माधव नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २६ गते


Advertisement

काठमाडौं, जेठ २६- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छ्न् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए । उनले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताए ।

‘एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने चाहना त हुनुपर्छ नि ! अहिले के देखिएको छ भने सँगै जाऔं भन्ने प्रस्ताव लिएर अहिले मोर्चा बनाउर अघि जाऔं भन्ने प्रस्ताव लिएर विभिन्न दलसँग कुरा भइरहेको छ,’ उनले भने ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरे । उनले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको उल्लेख गरे । उनले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार अघि बढिरहेको बताए ।

अध्यक्ष नेपालले राष्ट्रका आवश्यकताको पहिचान गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कुन कुरामा पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छुट्याउन जरुरी रहेको भन्दै देश विकास हुने मार्गहरुको पहिचान गरी अघि बढ्न आवश्यक रहेको बताए ।


प्रतिकृया दिनुहोस्