Hamro Sanchar

सन्दीप लामिछाने टि–२० विश्वकप खेल्न पाउने, आजै क्यानको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २ गते


Advertisement

काठमाडौँ, जेठ २- उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएसंगै टि–२० विश्वकप खेल्ने बाटो खुलेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेसंगै सन्दीपको विश्वकप बाटो खुलेको हो । आइसीसीले आगामि मे २५ तारिख भित्रमा खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको छ । अब क्यानले सन्दीपको निलम्बन फुकुवा गर्दै यसअघि घोषणा गरिएको खेलाडी सूचीमा परिवर्तन गरेर सन्दीपलाई राख्ने छ । जिल्ला अदालत काठमाडौँले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात न्यायाधीशद्वयले सन्दीपलाई निर्दोष ठहर गरेका हुन् ।

यस्तै लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गर्ने तयारी गरेको छ । संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने बताएको हो ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।


प्रतिकृया दिनुहोस्