Hamro Sanchar

प्रधानमन्त्री प्रचण्डले बोलाएपछि देउवासहित कांग्रेस नेताहरू बालुवाटार पुगे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३० गते


Advertisement

काठमाडौं, वैशाख ३०- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि बोलाएपछि सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेताहरू कृष्ण सिटौला र रमेश लेखक बालुवाटार पुगेका हुन् ।

कांग्रेसका एक नेताका अनुसार संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाएका थिए । नेताहरू बालुवाटार पुगेपछि छलफल सुरू भएको छ ।

संसद्को बर्खे अधिवेशन सुरू भएको दिन शुक्रबार नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको थियो ।

सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

तर सत्तापक्ष संसदीय छानबिन समिति बनाउन नपर्ने अडानमा छ ।

दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि संसदमा गतिरोध देखा परेको छ ।

त्यसको अन्त्यका लागि प्रतिपक्षीसँग छलफल गर्ने र सौहार्दपूर्ण वातावरण तयार गरी संसदका बाँकी कामहरू अगाडि बढाउनेबारे प्रयास थालिएको हो ।


प्रतिकृया दिनुहोस्