Hamro Sanchar

ओलीको आरोप : प्रधानमन्त्रीको प्रस्तावमा सम्झौता नगरेपछि ‘सहकारी भ्रष्टाचारी’ भन्दै कांग्रेस उफ्रियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २९ गते


Advertisement

काठमाडौँ, बैशाख २९- एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि रवि लामिछानेलाई आफूले राखेको प्रस्ताव अस्वीकार गरेपछि कांग्रेसले सहकारी प्रकरण ल्याएको बताएका छन् । उनले कांग्रेस सत्ता स्वार्थमा चुर्लुम्म डुबेको पनि आरोप लगाए ।

काठमाडौं महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसद्मा गर्नका लागि उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई नदिएकोमा आपत्ति जनाए । आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछानेलाई कांग्रेसले सहकारी ठगको आरोप लगाइरहेको र संसद्मा अलोकतान्त्रिक गतिविधि देखाइरहेको ओलीको भनाइ थियो ।

‘कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुस् डेढ वर्षका लागि भन्न जान्छ । कागज लिएर सम्झौता गरौं भन्न जान्छ, राति । त्यो कागजमा उसले सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ । रातिसम्म त्यो मान्छे कांग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो । कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो । के भएको हो कांग्रेस ?,’ ओलीले भने, ‘संसद् चल्न दिन्न भन्छ, किन ? आफू बोल्छ, अरुलाई आरोप लगाउँछ । आरोपित मान्छेले जवाफ दिन्छु भन्दा जवाफ दिन दिँदैन । बोल्न दिँदैन । आरोप लगाउने, संसद्मा आरोप लगाउने, आरोपको खण्डन गर्छु म, बोल्छु म भन्दा अर्कोलाई बोल्न नदिने ।’

कांग्रेसले लोकतान्त्रिक विधि मिचेको ओलीको भनाइ थियो । सत्ता स्वार्थमा कांग्रेस लागेकाले समस्या देखिएको उनको भनाइ थियो । ‘कांग्रेस लोकतान्त्रिक शक्ति होइन, सत्ता स्वार्थमा चुर्लुम्म डुबेको, सत्तास्वार्थमा केन्द्रित भएको र न्यायको पक्षमा होइन, जथाभावीको पक्षमा गएको स्पष्ट देखिएको छ,’ ओलीले भने ।


प्रतिकृया दिनुहोस्