Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चिट चोराउदा पक्राउ परेका प्रिन्सिपल र शिक्षक छुटे, ६०/६० हजार क्षेती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २८ गते


Advertisement

काठमाडौं, चैत २८- बाँकेमा एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराउने र प्रश्नपत्र आउट गर्ने प्रिन्सिपल र शिक्षक धरौटीमा छुटेका छन्।

नेपालगनञ्जस्थित लोटस इंग्लिस मिडियम हाइस्कुलका प्रिन्सिपल तपन शर्मा र शिक्षक मोहम्मद अल्ताफ खानलाई बाँके प्रशासनले ६०/६० हजार धरौटीमा रिहा गरेको हो। चैत १४ देखि सञ्चालन भएको एसइई परीक्षामा उक्त विद्यालयको परीक्षा केन्द्र नेपालगञ्जस्थित ज्ञानोदय विद्या निकेतन स्कुल तोकिएको थियो।

चैत २० गते विज्ञान विषयको परीक्षामा ह्वाट्सएप ग्रुप बनाएर प्रश्न पत्र आउट गरेको तथा चिट चोराएको सुराकका आधारमा बाँके प्रशासनले एवान कन्सल्टेन्सीमा छापा मारेको थियो। उक्त कन्सल्टेन्सीले प्रश्नहरूको उत्तर तयार पारी ह्वाट्सएप ग्रुपमा पठाउने गरेको भेटिएपछि त्यहाँबाट प्रहरीले इरफान अली मिकरानी, सन्तोष नेपाली र दिलिप विकलाई पक्राउ गरेको थियो।

पक्राउ परेका पाँच जनामध्ये एक नाबालक भएकाले बाल इजलासमा पठाउने र ४ जनालाई धरौटीमा छाडि मुद्दा अगाडि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए। कन्सल्टेन्सीबाट पक्राउ परेका तीनमध्ये २ जनालाई ३०/३० हजार धरौटीमा छाडिएको छ।

‘हाललाई धरौटीमा छाड्ने निर्णय भएको हो। थप प्रमाण बुझेपछि फैसला हुन्छ,’ प्रजिअ पोखरेलले भने।

उनीहरूविरूद्ध शिक्षा ऐनअनुसार परीक्षामा मर्यादाविपरीत कार्य गरेको कसुरमा मुद्दा अगाडि बढाइएको प्रजिअ पोखरेलले बताए।

उक्त कसुरमा ६ महिना कैद वा १ लाख जरिवाना वा दुवै सजाय हुन सक्नेछ।


प्रतिकृया दिनुहोस्