
काठमाडौं, चैत १६– श्रम स्वीकृतिका लागि तीन ‘शिफ्ट’ मा काम शुरु भएसंगै राति ९ देखि बिहान ४ बजेसम्म पनि श्रम स्वीकृति हुने भएको छ ।
वैदेशिक रोजगार बिभागको कार्यालय ताहाचल काठमाडौंले वैदेशिक रोजगारीमा जानेहरूलाई सहज होस् भन्ने उदेश्यले श्रम स्वीकृतिका लागि तीन ‘शिफ्ट’ मा काम थालेको हो । जसअनुसार बिहान ७ देखि दिउँसो २ बजेसम्म, दिउँसो २ देखि राति ९ बजेसम्म र राति ९ देखि बिहान ४ बजेसम्म गरी तीन ‘शिफ्ट’ मा सेवा प्रदान हुनेछ ।
यसअघि बिहान ७ देखि दिउँसो २ बजेसम्म र दिउँसो २ देखि राति ९ बजेसम्म सेवा दिने गरिएको थियो ।
विभागकाअनुसार बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवा प्रवाहलाई थप व्यवस्थित बनाइने छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।