Hamro Sanchar

गोठाटार भैमाल खानेपानी आयोजना : साँढे ४ लाख लिटर क्षमताको पानी टंकी शिलान्यास

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, ९ गते


Advertisement

काठमाडौं, चैत ९- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ मा रहेको गोठाटार भैमाल खानेपानी आयोजना अन्तर्गत पहिलो चरणमा साँढे ४ लाख लिटर क्षमताको ओभरहेड पानी टंकी तथा कार्यालय भवन शिलान्यास गरिएको छ । शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरि मेयर उपेन्द्र कार्कीले उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा खानेपानी तथा ढल ब्यबस्थापन बिभाग सहलगानी खानेपानी तथा सरसफाइ आयोजना निर्देशक नारायण प्रसाद आचार्य, संघीय खानेपानी तथा ढल ब्यबस्थापनका उज्ज्वल प्रजापति, पुर्व मेयर कृष्ण हरि थापा, वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयाल, ७ का अध्यक्ष भीमसेन थापा र ८ वडाअध्यक्ष हरिभक्त पुडासैनी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति कबिर शर्मा, गोठाटार भैमाल खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मनोहर चापागाईलगायत समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।

८३ करोड ९१ लाखमा आयोजनाको पहिलो चरणमा गोठाटार भैमाल खानेपानी आयोजना सञ्चालनका लागि गत असारमा बोलपत्र आह्वान (टेण्डर) आह्वान गरिएको थियो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाले ३१ करोड रुपियाँ बराबरको बोलपत्र आह्वान गरेको हो । जसमा जि.आर.डी/पाथीभरा जे.भी. काठमाडौंले १८ करोड ६९ लाखमा ठेक्का पाएको छ ।

जसमा नेपाल सरकारको ७० प्रतिशत अनुदान र ३० प्रतिशत स्थानीय उपभोक्ताको लगानीमा निर्माण सम्पन्न हुने गोठाटार भैमाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मनोहर चापागाईले जानकारी दिए ।

जसअनुसार पहिलो चरणमा उपभोक्ताले ८ करोड र दोश्रो चरणमा १८ करोड व्यहोर्नु पर्नेछ । बाँकी ५८ करोड सरकारबाट अनुदान प्राप्त हुनेछ । आयोजना संचालनका लागि नगरपालिकाले ९५ लाख उपलब्ध गराइसकेको छ ।

आयोजना मार्फत पहिलो चरणमा नगरपालिकाको वडा नम्बर ७,८ र ९ का स्थानीयका घरमा खानेपानी उपलब्ध हुनेछ भने दोश्रो चरणमा वडा नम्बर ६ समावेश गरेर साढे ८ हजार घरधुरीलाई शुद्ध खानेपानी उपलब्ध हुनेछ ।

आयोजना ठेक्का लागेको २ बर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।

यस्तै आज ३ लाख क्षमताको ओभरहेड पानी टंकी तथा कार्यालयको नवनिर्मित भवन पनि उद्घाटन गरिएको छ । उद्घाटन गरिएको भवन ३ करोडभन्दा बढी रकममा निर्माण सम्पन्न भएको हो ।

यो पनि पढ्नुहोस्- अरु विकासका आयोजना कटाएर भएपनि गोठाटार भैमाल खानेपानी आयोजना पुरा गर्छौं- मेयर कार्की


प्रतिकृया दिनुहोस्