Hamro Sanchar

ब्रम्हकुञ्ज शिक्षा सदनले चुम्यो १०औं चेल्सी अन्तर स्कुल शिक्षक फुटसल प्रतियोगिताको उपाधि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २२ गते


Advertisement

काठमाडौँ, फागुन २२- गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा संचालित चेल्सी वर्ल्ड स्कुल द्वारा आयोजित १०औं चेल्सी अन्तर स्कुल शिक्षक फुटसल प्रतियोगिताको उपाधि ब्रम्ह कुञ्ज शिक्षा सदनले जितेको छ । शनिबार सम्पन्न उक्त प्रतियोगितामा ब्रम्ह कुञ्ज शिक्षा सदनले भ्याली भ्यू इङ्लिस स्कुललाइ ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

प्रत्येक बर्ष शिक्षकहरुका लागि अध्यापनसँगै स्वस्थ मनोरञ्जन र भाईचारा कायम गर्ने उद्देश्यका साथ आयोजना गरिदै आएको उक्त प्रतियोगिताको १० औं संस्करणमा १५ विद्यालयका शिक्षक टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा ब्रम्ह कुञ्जका अविन थापा सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलकिपर घोसित हुँदा भ्याली भ्यूका सुधिर महर्जन उच्च गोलकर्ता तथा प्रतियोगितामा सबभन्दा छिटो गोल गर्ने खेलाडी घोसित भए ।

त्यसैगरि आयोजक चेल्सी वर्ल्ड स्कुलका रोशन राई प्रतियोगिताको प्रेरणादायी खेलाडी घोषित भए । फाइनल खेलमा ब्रम्ह कुञ्ज शिक्षा सदनका आशिष श्रेष्ठ म्यान अफ दी म्याच घोसित भएका थिए । प्रतियोगिताका विजेता र उपविजेता टिम तथा अन्य विधाका विजेताहरुलाई नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र एन्फाको युवा विभागका प्रमूख प्रशिक्षक नवीन महर्जनलगायतले पुरस्कार वितरण गरेका थिए ।


प्रतिकृया दिनुहोस्