Hamro Sanchar

अन्तिम श्रद्धान्जलिका लागि भक्तराज आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानमा राखिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १५ गते


Advertisement

काठमाडौं,फागुन १५- गायक भक्तराज आचार्यको पार्थिव शरीर आज अन्तिम श्रद्धान्जलिका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । बिहान ९ बजे आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानाको प्रांगणमा राखिने संगीतकार चेतन सापकोटाले जानकारी दिए ।
संगीतकर्मीहरूले आचार्यको सम्मानमा आज उनको गीत गाउनेछन् । सामूहिक रूपमा उनको गीत गाउने तयारी भइरहेको सापकोटाले जानकारी दिए ।

दिउँसो १ बजेपछि अन्तिम श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ । र, हिन्दु संस्कारअनुसार आजै दाहसंस्कार गरिनेछ । ८१ वर्षको उमेरमा आचार्यको हिजो निधन भएको थियो । बिरामी आचार्यलाई उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा आज दिउँसो बाटोमा निधन भएको हो । गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य लामो समयदेखि बिरामी थिए ।

३० वर्षदेखि उनको उपचार भइरहे पनि डेढ महिना अघिदेखि भने उनलाई रोगले च्यापेको थियो । रेडियो नेपालका जागिरे आचार्य ३० वर्ष अगाडिको दुर्घटनापछि गाउन नसक्ने अवस्थामा पुगेका थिए । जिव्रोमा समस्या देखिएपछि उनको स्वर नबुझिने भएको थियो । स्वरमा समस्या देखिएपछि उनको गायनयात्रा टुंगिएको थियो । त्यसपछि लामो समय उनी गीतसंगीतबाट टाढै रहेका थिए । उनले वर्षौंसम्म गीत समेत सुनेनन् । आफ्नो स्वर नफर्किने निश्चित भएपछि उनले बजाउने हार्मोनियम दुई छोरा सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई हस्तान्तरण गरेका थिए । सत्य र स्वरुप नेपाली सुगम संगीतका स्थापित गायक हुन् ।


प्रतिकृया दिनुहोस्