काठमाडौँ, माघ २८- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी दैलेखको डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रामा पल्टिएको छ । महासचिव सवार म.१ च ३६९ नम्बरको स्कोर्पियो शनिबार सकडमा पल्टिएको हो ।
दुर्घटनामा परेर नेकपा एमालेकी प्रदेश उप–सचिव पद्मा खड्का सामान्य घाइते भएकी छन् । खड्काको हातमा चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
महासचिव पोखरेल सुर्खेतबाट दैलेख सदरमुकाम तर्फ जाँदै थिए । गाडी सडकमा पल्टिएको र महासचिव पोखरेल सकुशल रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।
दुर्घटनापछि पोखरेल दैलेख सदरमुकाम पुगेर आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गरेर काठमाडौँ फर्किएका छन् ।