Hamro Sanchar

प्रकाश भुजेलले झारफुक पसल हटाउन नमानेपछि मेयर कार्कीले गराए प्रजिअ र प्रहरी प्रमुखको ध्यानाकर्षण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, २६ गते


काठमाडौं, माघ २६- प्रकाश भुजेलले पूजा तथा झारफुक पसल हटाउन अटेर गरेपछि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं प्रहरी परिसरका प्रमुखको ध्यानाकर्षण गराएका छन् ।

झाँक्री विद्याको बलमा जस्तो सुकै बिरामीको पनि उपचार गर्ने भन्दै भुजेलले नगरपालिकाको वडा नम्बर ५ स्थित हरियाली नगरमा पूजा तथा झारफुक पसल ‘मानव सेवा संस्कृति झाँक्री केन्द्र’ संचालन गर्दै आएका छन् ।

मेयर कार्कीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र काठमाडौंका प्रहरी प्रमुख एसएसपी भुपेन्द्र बहादुर खत्रीलाई केहिदिन अघि भेटेरै ध्यानाकर्षण गराएका हुन् ।

यसअघि जोरपाटीमा पुजा पसलको नाममा ठगी धन्दा चलाएका भुजेललाई स्थानीयको विरोधपछि हटाइएको थियो ।

भुजेलले त्यहाँबाट हटेर नगरपालिकाको हरियाली नगरमा आएका थिए । उनले त्यहाँ आएर वडामा पुजा पसल झाक्री केन्द्र भनेर दर्ताको लागि प्रयास गरेपनि नगरपालिकाले दर्ता गर्न दिएको थिएन । त्यसपछि नगरपालिकाले तुरुन्तै हटाउन खोजेपनि हट्न नमानेपछि मेयर कार्कीले भुजेललाई गत अशोज १६ गते कार्यालयमा बोलाएर छलफल गरेका थिए ।

मेयर कार्की, वडाध्यक्ष शंकर पाण्डे, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला, जनप्रतिनिधि तथा प्रहरीको संयुक्त छलफलपछि भुजलेले तिहारलगत्तै हट्ने सहमति जनाएका थिए । तर सहमति कार्यान्वयन गर्नुको सट्टा गुण्डागर्दी शैलीमा ठगी धन्दा मच्याउन खोजेपछि माथिल्लो निकायको सहयोग लिनु परेको मेयर कार्कीले बताए ।

यसअघि भुजेलले आफुहरुलाई जनप्रतिनिधिले करोडौं कमिसन मागेको र उक्त रकम दिन नसक्दा हटाउन खोजेको आरोप लगाउदै बिभिन्न युट्युबहरुमा आक्रामक अन्तर्वार्ता दिँदै आएका थिए ।

यसअघि भुजेलले यहिँ माघ १८ गतेबाट हरियाली नगरमा आफ्नो पूजा तथा झारफुक पसल नरहेको भन्दै सामाजिक संजालमा पोष्ट गरेका थिए । तर आफु पक्राउ पर्ने डरले उनले यस्तो प्रपन्च रचेको वडा नम्बर ५ का वडाअध्यक्ष शंकर पाण्डेले बताए ।

अहिले पनि भुजेलले उक्त स्थानमा मानव सेवा संस्कृति झाँक्री केन्द्र नामक पूजा तथा झारफुक पसल संचालन गर्दै आएका छन् । शनिबार पनि सिन्धुपाल्चोकको एक मन्दिरमा आफु जाने कार्यक्रम रहेको र सोहि स्थानबाट गाडी, खाजा र खानासहितको सुबिधा रहेको भन्दै पत्रकार तथा आफ्ना शुभचिन्तकहरुलाई त्यसतर्फ जान सार्वजनिक आह्वान समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्- प्रकाश भुजेलले अवैध रुपमा संचालन गरेको पूजा तथा झारफुक पसल हटाउन नगरप्रमुख कार्कीको निर्देशन


प्रतिकृया दिनुहोस्