Hamro Sanchar

लक्ष्मीनारायण सहकारीको संयोजनमा नेफ्स्कून अध्यक्ष ढकालसँग अन्तरक्रिया

प्रदिप नेपाली प्रकाशित : २०८० माघ, १८ गते


Advertisement

काठमाडौं, माघ १८- लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको संयोजनमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकालसँग अन्तरक्रिया सम्पन्न भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ बाबाचोकस्थित संस्थाको सभाहलमा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा नेफ्स्कून पेप्सीकोला शाखामा आवद्ध ४३ मध्ये अधिकांश सहकारी संस्था संचालक तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकाललाई बधाई तथा शुभकामनासमेत व्यक्त गरिएको थियो ।

भेटमा सहकारी संचालकहरुले सहकारीमा ऋण लगानी तथा असुलीमा देखिएका विविध समस्या, संचालनमा देखिएका समस्या, सहकारी बारे जनमानसमा परेको भ्रम आदिबारे जिज्ञासा र सुझावहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्स्कून अध्यक्ष ढकालले नेफ्स्कूनको नयाँ सञ्चालक समितिले सहकारी अभियानलाई थप सशक्त बनाउने कुरामा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘समग्र सहकारी अभियानलाई साथै लिएर नेफ्स्कून हिड्छ, ‘अध्यक्ष ढकालले भने, ‘हाम्रा बहसपैरवीहरुमा ऐक्यबद्धता र कार्यक्रमहरुमा यहाँहरुको दरिलो साथ र समर्थन आवश्यक पर्दछ ।’ उनले अभियानकर्मीहरुको सुझावहरुलाई आत्समात गरी अघि बढ्ने विश्वास पनि दिलाए । उनले नेतृत्व परिवर्तन केवल अनुहार परिवर्तन नभएको बताए । उनले साकोस अभियानको साँच्चिकै शुद्धीकरण र रुपान्तरणका लागि नेतृत्व परिवर्तन भएको दाबी गरे । भने हिजोका कमजोरीहरु सुधार्ने, राम्रा कामलाई निरन्तरता दिने र नवीन योजनाहरु अघि सारिने जानकारी पनि गराए । साकोस व्यवस्थापकहरुलाई सदस्यहरुको हितमा काम गर्न, संस्थागत सुधारका कामहरुलाई अघि बढाउन, साकोस अभियानका सकारात्मक विषयहरु उजागर गर्न र समुदायमा सहकारीको अत्यावश्यकता बोध हुने गरी काम गर्न आग्रह गरे ।

एक अर्को प्रसङ्मा उनले ऋण तिर्नु सबैको दायित्व भएको उल्लेख गर्दै यस विषयलाई मनन् गर्न आग्रह गरे । वित्तीय कारोबार संवदेनशील हुने भन्दै अध्यक्ष ढकालले समयमै किस्ता बुझाइ असल ऋणी बन्न सदस्यहरुलाई सबैले सिकाउनुपर्ने र सहकारीहरुले पनि यो विषयलाई हेक्का राख्नुपर्ने सुझाए । यसो गर्दा प्राप्त हुने नतिजा सबैका लागि ‘विन-विन’ हुने उनको तर्क थियो ।

लक्ष्मीनारायण सहकारीका अध्यक्ष शंकर थापाले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले संस्थामा ७ सयभन्दा बढी नियमित बचतकर्ता रहेको र महिला तिज बिशेष बचत खाता संचालनमा ल्याएको जानकारी दिए ।

त्यसैगरी नवनिर्वाचित नेफ्स्कुन टीमले सहकारी संचालनमा देखिएका समस्या र सहकारी बारे समाजमा हुने गरेका भ्रम चिर्न दत्तचित्त भएर काम गर्ने आशा व्यक्त गरे । उनले सहकारी संस्था डुब्नु र आर्थिक भारले बन्द हुने अवस्था आउनुमा संचालक समिति नै दोषी भएको विचार व्यक्त गरे । संचालक समिति मजबुत भए कुनैपनि हालतमा सहकारी नडुब्ने र बचतकर्ताले विश्वास गर्ने वातावरण बन्ने बताए ।

सचिव पुष्करराज नेपालले सञ्चालन गरेको कार्यक्रममा बागमती बचत संघका सचिव गोबिन्द काफ्ले, सहकारी संघ काठमाडौं जिल्ला सचिव  सनोज भट्टराई, काठमाडौं बचत संघ महासचिव निरन्जन सेडाई, जिल्ला सहकारी संघ संचालक समिति सदस्य हेम बहादुर कार्की, नेफ्स्कुन सेवा केन्द्र काँडाघारी प्रमुख तिलक प्रसाद चौलागाईलगायतले सहकारीका समस्या र समाधानका बिषयमा बोलेका थिए ।

लक्ष्मीनारायणले करिब ३ करोड लगानी गरेर बाबाचोकमा आफ्नै भवन निर्माण गरेको छ । सहकारीले अशोज १ गतेबाट आफ्नै नयाँ भवनबाट सेवा सुरु गरेको छ । भने संस्थाले जिल्ला सहकारी संघ काठमाडौं, काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कुन) र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन), बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (प्रोस्कुन)को सदस्य लिनुका साथै राष्ट्रिय सहकारी बैंक लिमिटेड तथा अन्य बिभिन्न बाणिज्य बैंकमा खाता खोलि बचत गर्दै आएको र संस्थाले हिमाल रेमिट, प्रभु रेमिट, सिटि एक्सप्रेस, आइएमइ रेमिट र हुलास रेमिट मार्फत विभिन्न देशबाट पठाएको रकम भुक्तानी दिँदै आएको छ ।


प्रतिकृया दिनुहोस्