Hamro Sanchar

सूर्याेदय सहकारी चोरी प्रकरण : नियन्त्रणमा लिएका तारेखमा छुटे, के गर्दैछ प्रहरी ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, १८ गते


Advertisement

काठमाडौं, माघ १८- दोलखाको मेलुङ गाउँपालिका-१ पवटीस्थित ‘हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्था’बाट ३२ लाखभन्दा बढी रकम चोरी भएको छ ।

सहकारीबाट सोमबार राती कार्यालयमा रहेको सेफ (भल्ट) मा राखिएको ३२ लाख ८७ हजार नगद चोरी भएको हो । कार्यालयको मेन गेटसहित ५ वटा ताला फोडेर भल्टमा राखिएको उक्त रकम चोरी भएको अध्यक्ष छत्रराज उप्रेतीले हाम्रोसंचारलाई जानकारी दिए ।

घटनामा प्रहरीले सूर्याेदय सहकारीका पूर्व कोषाध्यक्ष कपिलमणि न्यौपाने र व्यवस्थापक महेन्द्र भुजेललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । तर घटनाका सम्बन्धमा सोधपुछका लागि नियन्त्रणमा लिएको सहकारीका व्यवस्थापक भूजेल र न्यौपानेलाई बुधबार हिरासतमुक्त गरेको छ । उनीहरुलाई सहकारीका अध्यक्ष छत्रराज उप्रेती सहितका सञ्चालक र अन्य व्यक्तिहरुको उपस्थितिमा तारेखमा छाडिएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक खड्काले हाम्रोसंचारलाई बताए ।

डिएसपी खड्काकाअनुसार पक्राउ परेका दुई जनामध्ये न्यौपाने सूर्याेदयका पूर्व कोषाध्यक्ष र संस्थालाई घर भाँडामा दिने घरबेटी समेत हुन् भने भुजेल लामो समयदेखि संस्थामा व्यवस्थापकको जिम्मेवारीमा रहेका थिए ।

‘सहकारी चोरी भएको निवेदन हामीकहाँ परेको छ । घटनामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेका थियौं । अहिले उनीहरुलाई तारेखमा छोडिएको हो । अहिले नै दोषी को हो भन्ने पत्ता लागेको छैन । हामी सम्पूर्ण डिटेल्स लिने, दाबी गरेअनुसारको रकम हो वा होइन भन्ने पुष्टि गर्ने काम गरिरहेका छौं । सिसिटिभी फुटेजको पनि हामीलाई प्राप्त भएको छ । सहायतामा हामी छिट्टै सत्यतथ्य पत्ता लगाउने छौं । यस घटनालाई हामीले गम्भीर रुपमा लिएका छौं । गरिब किसानले आर्जन गरेर दुई-चार रुपैयाँ गरेर जम्मा गरेर राखेको हिनामिना गर्ने छुट कसैलाई छैन । त्यसतर्फ नेपाल प्रहरी सजग र गम्भीर छ ।’ डिएसपी खड्काले भने ।

प्रहरीले सूर्याेदय सहकारीमा लाखौं चोरीको भएको घटनालाई प्रहरीले शंकास्पद रुपमा लिएको र संस्थाका अन्य सञ्चालक र कर्मचारीलाई समेत निगरानीमा राखी सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।

सिसिटिभी फुटेजमा एक जना अपरिचित व्यक्तिले सोमबार राती करिव ११ बजेको समयमा करिव आधा घण्टाको अवधिमा सहकारीको मूख्य गेटदेखि सेफ (भल्ट) राखेको कोठाको ढोकासम्म पाँच वटा ताला फोरेर रकम लिएर फरार भएको देखिन्छ ।

पवटीमा आजभोली चोरीका घटना बढ्दै गैरहेका छन् । केहिदिन अघि मात्रै घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको थियो ।

यो पनि पढ्नुहोस्- हाम्रोसंचार समाचार प्रभाव : ‘हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी’विरुद्ध उजुरी

यो पनि पढ्नुहोस्- सार्वजनिक जग्गा अतिक्रमण गर्ने सहकारी पोस्दै गाउँपालिका, भवन निर्माणका लागि बजेट निकासा


प्रतिकृया दिनुहोस्