Skip

Hamro Sanchar

हाम्रोसंचार समाचार प्रभाव : ‘हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी’विरुद्ध उजुरी

प्रदिप नेपाली प्रकाशित : २०७९ असार, २१ गते


दोलखा, असार २१- दोलखाको मेलुङ गाउँपालिकाले वडा नं-१ पवटीस्थित रमाइलो चोकमा रहेको ‘हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड’विरुद्ध उजुरी परेको छ । सार्वजनिक जग्गा अतिक्रमण गर्ने सहकारी पोस्दै गाउँपालिका, भवन निर्माणका लागि बजेट निकासा भन्ने शिर्षकमा हाम्रोसंचारमा समाचार प्रकाशित भएपछि उजुरी परेको हो ।

स्थानीय युवा निरोज कोइरालाले अविलम्ब निर्माणको काम रोकेर आवश्यक अनुसन्धान गर्न भन्दै डिभिजन वन कार्यालय चरिकोट, दोलखामा उजुरी दिएका हुन् । उजुरीमा सहकारीको कार्यसमितिले निजि आवश्यकता परिपूर्ति गर्न सार्वजनिक जग्गा अधिग्रहण गर्दै रुख फडानी गरि भवन निर्माण गरिरहेकाले उक्त भवन निर्माण कार्य अविलम्ब बन्द गरि आवश्यक छानबिन भनिएको छ ।

सहकारीले भवन निर्माण गर्दा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको थियो । सहकारीले रमाइलो चोकमा निर्माण गर्दै गरेको जमिन आधा सार्वजनिक र आधा अरु नै व्यक्तिको परेको पाइएको हो । अमिन ल्याएर त्यस क्षेत्रको नापजाँच गर्दा आधा जमिन सार्वजनिक र आधा जमिन तुलसी नेपालीको नाममा रहेको पत्ता लागेको हो ।

उजुरी परेसँगै डिभिजन वन कार्यालयले निर्माणको काम तत्काल रोक्का गरि कारबाहीको लागि सब-डिभिजन वन कार्यालयलाई निर्देशन दिइसकेको बुझिएको छ ।

यता गाउँपालिकाले पनि भवन निर्माणका लागि भन्दै १० लाख रुपियाँ बजेट दिएको थियो । बजेट उपलब्ध भएसँगै सहकारीले केहिदिन देखि भवन निर्माण कार्य गरिरहेको छ ।

गाउँपालिकाले बचत तथा ऋण सहकारी जस्तो नाफामुलक संस्थालाई भवन निर्माणका लागि बजेट दिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

कार्यपालिका बैठकमा नाफामुलक सहकारी संस्थालाई बजेट दिन नहुने भन्दै बिरोध भएपनि तत्कालिन गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले शिर्षक मिलाएर उक्त सहकारीलाई बजेट दिएका थिए ।

यो पनि पढ्नुहोस्- सार्वजनिक जग्गा अतिक्रमण गर्ने सहकारी पोस्दै गाउँपालिका, भवन निर्माणका लागि बजेट निकासा


प्रतिकृया दिनुहोस्