काठमाडौं, माघ ३- स्थानीय बासिन्दा र संरक्षणकर्मीको विरोधपछि खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयबाट पछि हटेको काठमाडौं महानगरपालिका त्यहाँ अब फुटबल मैदान बनाउन तम्सिएको छ ।
फेरि पनि स्थानीयवासी र संरक्षण अभियन्ताहरुले खुलामञ्चलाई प्राकृतिक चौरकै रुपमा छाड्न माग गर्दै सर्वसाधारणको पहुँच नखुम्च्याउन चेतावनी दिएका छन् । तर, स्थानीय फुटबल क्लबहरुलाई साथ लिएर महानगरपालिका जसरी पनि खुलामञ्चमा सकेसम्म कृत्रिम (प्लाष्टिक) दुबो रोप्ने र सम्भव नभए प्राकृतिक दुबो रोपेरै भए पनि दुई वटा फुटबल मैदान तयार गर्ने अडानमा छ ।
महानगरपालिकाको गत आर्थिक वर्षको बजेटमा वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङको पूर्वाधार निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख थियो ।
सोही अनुसार काठमाडौंले ५ हजार गाडी अट्ने गरी भूमिगत पार्किङको लागि नगर विकास कोषमार्फत अध्ययन अगाडि बढाएको थियो । तर खुलामञ्चको प्राकृतिक अवस्था खलबल्याउन नहुने भन्दै चर्को विरोध र आलोचना भयो । अहिले महानगरपालिकाले सम्भाव्यता अध्ययनबाट भूमिगत पार्किङ बनाउन सम्भव नदेखिएको बताएर खेल मैदानको योजना अघि सारेको हो ।
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुद स्थल सुधार’ का नाममा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । महानरपालिकाको सार्वजनिक निर्माण विभाग अन्तर्गत सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रम अन्तर्गत खुलामञ्चलाई मैदान बनाउने काम हुन लागेको हो ।