Skip

Hamro Sanchar

कृषि मन्त्रालय र एफएओ नेपालको सयुक्त आयोजनामा फ्युचर स्मार्ट क्रप्स प्रदर्शनी सम्पन्न

सुदिप बर्देवा प्रकाशित : २०८० पुष, २७ गते


काठमाडौं, पुस २६- नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ नेपालको सयुक्त आयोजनामा “फ्युचर स्मार्ट क्रप्स प्रदर्शनी” सम्पन्न भएको छ । काठमाडौंस्थित होटेल सोल्टीमा बिहिबार आयोगित प्रदशनीमा रैथाने बालि प्रदर्शन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

‘अन्तर्राष्ट्रिय नीति संवाद भविष्यको स्मार्ट फसलहरू’ नाम दिइएको उक्त कार्यक्रम उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्य तथा नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री डाक्टर बेदुराम भुसालको अध्यक्षता सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले नेपाल कृषिप्रदान देश भएको र नेपालको कुल अर्थतन्त्रको एकतिहाई योगदान कृषि क्षेत्र गरेको बताए । यद्यपि, नेपालको कृषि क्षेत्र केहि सिमित दुलधाराका बालीमा मात्र सिमित भएको र अब यसभन्दा माथि उठ्नु पर्ने उनले बताए ।

शरीरलाई चाहिने पोषण : चामल र दालले मात्र नभई कोदो र फापरबाट पनि प्राप्त हुने भन्दै उनले रैथाने बालीको ठुलो महत्व रहेको बताउदै यसको प्रवर्द्धनमा यस्ता कार्यक्रले महत्वपूर्ण सहयोग पुर्याउने उनको भनाई थियो । राज्यको नीति तथा कार्यक्रमहरुले कोदो, फापर जस्ता बालीहरुलाई समेट्न नसकिरहेको भन्दै उनले नीति तथा कार्यक्रमहरुले कोदो, फापर जस्ता बालीहरु समेटिनु पर्नेमा जोड दिए ।

नेपालमा कृषि तथा कृषकहरुको स्तरोन्नति गर्न विभिन्न खाले तालिम तथा सचेतना मुलक कार्यक्रमहरु गर्नुपर्ने उनको भनाई थियो ।

खाद्य तथा कृषि संगठनले नेपालमा विशेष गरी खाद्य तथा पोषण सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विकास, सम्बन्धित संस्थाहरूको क्षमता अभिवृद्धि एवम् सार्वजनिक नीतिगत क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहेको र गरेको सहकार्य र योगदानको उपराष्ट्रपति यादव प्रशंसा गरेका थिए ।

नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मंत्री डा. बेदुराम भुषालले स्मार्ट क्रप्सले भविष्यमा निम्तिन सक्ने खाद्य संकटलाई अन्त्य गर्न टेवा पुर्याउने बताए । सरकारले आफ्ना औपचारिक कार्यक्रमहरुमा खाजाको रुपमा स्मार्ट फुड उपलब्ध गराउने योजना रहेको समेत बताए ।

मन्त्री भुसालले कृषि अनुसन्धानमा एफएओको सहयोग र सहकार्य प्रशंसनीय रहेको भन्दै खाद्य व्यवस्थामा विविधताले हामीलाई सिमित बालीहमा निर्भर रहने परिपाटीबाट माथि उठाउन सहयोग गर्ने र कृषकहरुलाई जलवायु परिवर्तनका असरहरु न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरुले मद्दत पुर्याउने उनको भनाई थियो ।

एफएओका महानिर्देशक डा‍. क्यू डोङ्ग्यूले नेपाल पेरिस सम्झौताको कार्यान्वयनका लागि पूर्ण रूपमा प्रतिवद्ध रहेको बताए ।उनले एफएओलाई नेपालको विशिष्ट जलवायु संवेदनशीलतालाई बुझ्न र त्यसका लागि वित्तीय, प्राविधिक र क्षमता विकाससँग सम्बन्धित संशाधनमा वृद्धि गर्न आग्रह गरे । सो अवसरमा नेपालको कृषि क्षेत्रको क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य संगठन सदैव तयार रहेको महानिर्देशक डोङ्ग्यूले बताए ।

कार्यक्रममा नेपाल सरकार र एफएओबीचको साझेदारीलाई निरन्तरता दिने साथै, दुई पक्षबीच कृषि, वन, वातावरण तथा जलवायु परिवर्तनजस्ता क्षेत्रमा सहकार्य गर्नेबारे पनि छलफल भएको थियो ।

कार्यक्रममा रैथाने बाली प्रवर्द्धनमा सक्रिय व्यक्ति, संघ-संस्थाहरुको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्