Hamro Sanchar

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग नलिने विद्यालयलाई कागेश्वरीले स्पष्टीकरण सोध्ने

प्रदिप नेपाली प्रकाशित : २०८० पुष, २५ गते


Advertisement

काठमाडौं, पुस २५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा आजबाट तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर-६ स्थित मुलपानी चौरमा बिभिन्न विद्यालयको मार्चपाससहित उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन नगरप्रमुख उपेन्द्र कार्कीले गरे ।

नगरपालिकामा सामुदायिक १६ वटा र संस्थागत ८८ गरि १०४ विद्यालयहरु संचालित छन् । तर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४९ वटा विद्यालयले मात्र सहभागिता जनाएका छन् । नगरपालिकाका १६ सामुदायिक विद्यालयमा १० हजार विद्यार्थी अध्ययनरत छन् भने संस्थागत तर्फ ३० हजारले अध्ययन गरिरहेका छन् । ४० हजार विद्यार्थी अध्ययन गरिरहेको नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १ हजार ४ सय ३० विद्यार्थी खेलाडीहरुको मात्र सहभागिता रहेको छ ।

यसै सन्दर्भमा नगरप्रमुख कार्कीले असन्तुष्टि जनाएका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले प्रतियोगितामा भाग नलिने विद्यालयलाई नगरपालिकाले स्पष्टीकरण सोध्ने बताएका छन् । उनले अर्को बर्षपनि यसप्रकारको प्रतियोगिता हुने भएकाले त्यहिअनुरुप तयारी गर्न सम्पूर्ण विद्यालयलाई निर्देशनसमेत दिए । उनले नगरपालिकाको समग्र विकास र शैक्षिक क्रियाकलापमा सबैले मिलेर काम गर्नुपर्ने बताए ।

‘हामीले पुस १० गतेबाट प्रतियोगिता संचालन गर्ने तयारी गरेका थियौं । यति धेरै विद्यालय र विद्यार्थी भएको नगरपालिकामा त्यो अवधिसम्म २० विद्यालयले मात्र नोमिनेसन गरे । हाम्रो उदेश्य प्रतियोगितामा अधिकांश विद्यालय र धेरैभन्दा धेरै विद्यार्थी खेलाडीहरुको सहभागीता गराउने थियो र पुर्वनिर्धारित कार्यक्रम सर्यौं । प्रतियोगिता ब्यबस्थापन तथा निर्देशन समितिको केहिदिनको परिश्रम र लगावले थप गर्न सफल भयौं । प्रतियोगितामा सहभागिता जनाउन तपाईहरु एक हप्ता अगाडी जोडिएर तयारी गर्नुस्’ नगरप्रमुख कार्कीले भने ।

आफुहरु अभाव र समस्याका बाबजुद पनि सामुदायिक विद्यालय सुधारमा उल्लेख्य काम गर्न सफल भएको उनको भनाई छ । उनले आगामी दिनमा ५ करोडभन्दा बढी रकम छुट्याएर सामुदायिक विद्यालयको पूर्वाधार विकास र स्तरोन्नतिका कार्य सम्पन्न गर्ने बताए ।

यो पनि पढ्नुहोस्- कागेश्वरी मनोहरा नगरस्तरीय राष्ट्र‌पति रनिङ शिल्ड प्रतियोगिताको भव्य रुपमा उद्घाटन


प्रतिकृया दिनुहोस्