
काठमाडौं, पुस १- आज (आइतबार) गोरखापत्रमा सूचना प्रकासन गर्दै शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छात्रवृत्ति र दिवा खाजाको रकमबाट शिक्षकलाई तलब नखुवाउन अनुरोध गरेको छ ।
छात्रवृत्ति र दिवा खाजाका लागि नेपाल सरकारले पठाएको रकमले निजी स्रोतका शिक्षकलाई तलब खुवाएको गुनासो आएपछि केन्द्रले यस्तो सूचना प्रकासन गरेको हो ।
‘केही विद्यालयहरूले छात्रवृत्ति र दिवा खाजा शीर्षकमा प्राप्त भएको रकम विनियोजित शीर्षकभन्दा बाहिर गई निजी स्रोतका शिक्षकहरूको पारिश्रमिकमा खर्च गरेको जानकारी आएकोले यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा उल्लेख छ ।
सःसर्त अनुदानका रूपमा सरकारले पठाएको बजेट स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भएअनुसार मात्रै खर्च गर्नुपर्नेमा निजी स्रोतका शिक्षकलाई तलब खुवाइएको गुनासो आएको थियो ।