
रुपन्देही, मंसिर १६- रूपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा शनिबार विहान स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका हुन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ।
सूर्यपुरा ३ सिद्धार्थ बोर्डिंग स्कुल को लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बस जलाएका छन् ।
इलाका प्रहरी कार्यालयले घटनामा दुई जनाको घटनास्थलमा मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेपनि मृतकको पहिचान नखुलेको जनाएको छ ।
स्थानीय वीरेन्द्र मिश्रका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ४ अमारी गाउँका इरसार मुसलमानले आफ्ना बालबालिका मदरसा छोड्न जाने क्रममा शनिबार भ्रमणमा जाँदै गरेको सो स्कुल बसले ठक्कर दिएर यस्तो घटना भएको जानकारी दिए । उनका अनुसार अहिले सो क्षेत्रमा स्थानीले प्रदर्शन गरेका छन् भने स्थिति तनाबग्रस्त भएको छ ।