
काठमाडौं, कात्तिक १३- मुगुको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
आइतवार मध्याह्न करिब १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बजार (नगरपालिका जाने बाटो) नजिकैबाट प्रहरीले हत्यामा संलग्न भएको हुन सक्ने आशंकामा एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिलाई सार्वजनिक गरेको छैन ।
घटनाबारे अनुसन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोलीले मुगुमा अनुसन्धान गरिरहेको छ ।
प्रहरी हत्याराको करिबकरिब नजिक पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले बताए।
उनका अनुसार अनुसन्धानको क्रममा एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको छ । सम्पुर्ण कोणबाट घटनाको अनुसन्धान भइरहेको र पुरै प्रमाण पुगेपछि अपराधीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरिने छ ।
शुक्रबार मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै मृत अवस्थामा फेला परेको थियो ।


















