काठमाडौं, असोज १४-१९ औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले हराएको छ ।
चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो । २ सय १३ रनको विशाल लक्ष्य पाएर मैदानमा आएको माल्दिभ्सले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो ।
माल्दिभ्सका गनि मौयाथको ३६ रन नै सर्वाधिक रह्यो । खेलमा माल्दिभ्सले १० रन अतिरिक्त पाएको थियो । माल्दिभ्सलाई सस्तैमा समेटन् अविनाश बोहोराले ६ विकेट लिए । २२ बल फ्याकेका उनले ११ रन खर्चिए । यतै गुल्नन झा, सोमपाल कामी, सन्दिप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए ।
त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे ।
पाँचौं विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए । गुलशन ३५ रनमा आउट भए । ओपनर आसिफ शेख ६ रनमा आउट भए भने कुशल भुर्तेल ३५ रनमा पेभिलियन फर्किए ।
एक वर्षपछि पुनरागमन गरेका विकेट किपर विनोद भण्डारी १३, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट हुँदा सोमपाल कामीले एक बलमा एक रन बनाए ।माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिए ।