
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा नेपाली विशेषताको समाजवाद ल्याउनुपर्ने बताएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजानु नै अबको मुख्य विकल्प रहेको बताएका हुन् ।
सम्बोधनका क्रममा नेता खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठेको टिप्पणी गरे । उनले भने- ‘पुँजीवादको अन्त्य र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्युनिस्टहरू मिलेर समाजवाद स्थापना गर्नुको विकल्प छैन ।’
शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित रूपान्तरण गर्न नसकिएको स्वीकार गर्दै खनालले सबै जनताले गाँस, बास र कपाससहित शिक्षाको सहज पहुँच पाउने नेपाल निर्माण गर्न समाजवाद अपरिहार्य रहेको जिकिर गरे ।
सोही अवसरमा उनले नेकपा एमालेलाई पनि एकता र समाजवादको बाटोमा आउन आग्रह गरे । एमाले पङ्क्तिलाई लक्षित गर्दै उनले भने-‘म एमाले महाधिवेशनमा भएका साथीहरूलाई भन्छु, आउनुहोस्, एकै बाटोमा अघि बढौँ । हामी एउटै कम्युनिस्ट शक्ति बनेर अघि बढ्नुपर्छ ।


















