
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा (एमाले)ले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम र सबल नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन् ।
आज भक्तपुरको सल्लाघारीमा उनले ११औँ महाधिवेशनका माध्यमबाट एमालेलाई समयसापेक्ष बनाउन योग्य नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका हुन् ।
उनले प्रमुख राजनीतिक दलहरू कमजोर भएको अवस्थामा मुलुकमा निरंकुशता हाबी भएको स्मरण गरे । राजनीतिक दलहरू मजबुत हुनुपर्नेमा उनले जोड दिए । बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू संगठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने उनको भनाइ थियो ।
उनले एमाले महाधिवेशनले वर्तमान परिस्थितिलाई सही ढंगले विश्लेषण गर्दै आउँदो बाटो तय गर्न अरू राजनीतिक दलसँग सहकार्य गर्ने वातावरण बनाउने पनि विश्वास व्यक्त गरे ।
उनले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेलेको टिप्पणी गरे । नेपालमा ऐतिहासिक सम्पत्ति, विभिन्न राजनीतिक दलका कार्यालय जलाइएको उनले उल्लेख गरे । उनले ती अपाराधिक क्रियाकलाप गर्नेलाई समयले माफ नगर्ने पनि बताए ।


















