Hamro Sanchar

आरके शर्माद्धारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ११ गते


काठमाडौं, असोज ११- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को अध्यक्ष पदमा आरके शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

अक्टोबर १७ देखि काठमाडौंमा हुने ११ औं महाधिवेशनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्दैछ । त्यसका लागि शर्माले कतारबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

शर्मा एनआरएनएका वर्तमान उपाध्यक्ष हुन् । नेतृत्वका लागि समर्थन जुटाउन उनले जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको भ्रमण गरेका थिए ।

भ्रमणपश्चात आफ्नो पक्षमा राम्रो माहोल देखिएको उनले बताएका छन् ।

‘एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ,’उनले भने ।

दोहास्थित र्‍याडिसन ब्लु होटलमा एक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गरेका शर्माले आफू निर्वाचित भएको खण्डमा २ वर्षे कार्यकालमा गर्नेगरी २४ वाचा प्रस्तुत गरेका छन् ।

सांगठनिक पुनर्संरचनादेखि एनआरएनएका सरोकारका विषय समेटिएका वाचापत्र विश्वका विभिन्न देशमा गैरआवसीय नेपालीहरूको सल्लाह सुझावका आधारमा तयार गरिएको उनले बताए ।

उनले आफू नेतृत्वमा आए आफ्नो वाचा पत्रअनुसार काम भए नभएको जानकारी प्रत्येक तीन/तीन महिनामा सार्वजनिक गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

उनले विदेशमा बस्ने नेपाली श्रमिकहरूको भविष्य सुनिश्चित गराउन भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

एनआरएनएको अध्यक्षका लागि महेश श्रेष्ठले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।


प्रतिकृया दिनुहोस्