काठमाडौं, असोज ८- राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले सोमबार आन्दोलनलाई जारी राख्दै बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध गरेका हुन् ।
शिक्षक महासंघ र सरकारबीच सहमति भए पनि राहत शिक्षकहरूले आफ्नो आन्दोलन जारी नै राखेका हुन् ।
सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै उनीहरूले काठमाडौंको बबरमहलमा आज सुतेर प्रदर्शन गरेका छन् ।
राहत शिक्षकसँगै, बाल शिक्षक, विद्यालय कर्मचारीहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले प्रदर्शनको नयाँ स्वरूप अपनाएका हुन् ।
गत शुक्रबार सरकारले शिक्षक महासंघसँग ६ बुँदे सहमति गरेको थियो । यो सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै आफूहरूको माग सम्बोधन नभएको बताएका थिए ।
पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।