काठमाडौं, जेठ २९- किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बाख्रा वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर १ का बाख्रापालन समूहका किसानलाई उन्नत जातको बाख्रा (पाठी) र बोका वितरण गरिएको हो ।
व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसानको प्रोत्साहनको लागि नगरप्रमुख उपेन्द्र कार्कीले आइतबार २३ वटा उन्नत जातको बाख्रा र २ वटा बोका एक कार्यक्रमकाबीच किसानलाई वितरण गरेका हुन् ।
मासु उत्पादनमा उपयुक्त मानिने अस्ट्रेलियाबाट ल्याइएका २५ वटा बाख्रा र बोका ७५ प्रतिशत नगरपालिकाको अनुदानमा दिइएको हो । जसमा किसानले २५ प्रतिशत लगानी गरेका छन् ।
किसानलाई गोलाप्रथा गरी बाख्राको ट्याग नम्बरअनुसार वितरण गरिएको थियो । गोलाप्रथाअनुसार कागेश्वरी लघु उद्यमी समुहलाई १० वटा बाख्रा र एक बोका, सहारा एकीकृत कृषि फर्मलाई ७ वटा बाख्रा र एक बोका, नौसाङ्ग बाख्रा फर्मलाई ५ बाख्रा र मणिलिंगेश्वर बाख्रा फर्मलाई २ वटा बाख्रा परेको थियो ।
तनहुँको बन्दीपुरबाट ल्याइएका बाख्राको मुल्य प्रति केजी १२ रुपियाँ र बोकाको मुल्य प्रति केजी १५ सय रुपियाँ परेको बताइएको छ ।
यसका लागि गाउँपालिकाले रु १० लाख खर्च गरेको नगरप्रमुख कार्कीले बताए । अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख कार्कीले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउनु पर्ने उनको भनाइ छ । नगरप्रमुख कार्कीले बाख्राको स्याहारसुसार गरी वर्षेनि राम्रो आम्दानी गरे किसानका पाइला-पाइलामा साथ दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
दैनिक लाखौ रुपियाँको माछा, मासु, अण्डा विभिन्न स्थानबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको जोड रहेको थियो ।
बाख्रा हस्तान्तरण गर्दै कार्कीले भने, “अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । पहिलो गाँसमा ढुंगा नलागोस् । सानो-सानो कुरा नै सुन्दर हुन्छ । ठुलाठुला कुरा गरेर प्रतिफल नदिने हुन्छ । तपाईहरुको प्रगति देखेर भोलि सयौं किसान आउने वातावरण बनोस् । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउनु पर्नेछ ।’
अबका दिनमा भैंसी, कालिज लगायत किसानका रुचीअनुसार वितरण गरिने उनको भनाई छ । नगरपालिकाले नगरभित्रको भौगोलिक अवस्था, स्थानीयको रुचीअनुसार किसान लक्षित कार्यक्रम र उत्पादनमुलक कार्यक्रम संचालन गरिरहेको नगरप्रमुख कार्कीले जानकारी गराए ।
कार्यक्रममा नगर उप-प्रमुख शान्ता थापाले विकास भन्ने बितिकै बाटोघाटो मात्रै नभएको बताउदै ९ वटै वडालाई वर्गीकरण गरेर आवश्कताअनुसार उत्पादनमुखी योजनाहरु संचालन गरेको बताइन् ।
वडा नम्बर १ का वडाअध्यक्ष मुकुन्द गजुरेलले बाख्रापालनका लागि उपयुक्त वातावरण भएको वडा रहेको बताउँदै उनले व्यावसायिकरुपमा बाख्रापालन व्यवसाय अघि बढाउन आवश्यक रहेको जनाए । उनले आफुलाई किसन घोषणा गरेर त्यसैमा तल्लिन भएर काम गर्नसमेत अनुरोध गरे ।
नगरपालिकाकी सहकारी शाखा प्रमुख अनिता तामाङले नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म कृषिजन्य कार्य गर्ने उदेश्य राखेको बताइन् । त्यसमा उद्यम, व्यवसाय गर्न चाहने कृषकहरुलाई नीति तथा कार्यक्रममा समावेश गरेर वडा स्तरीय योजनाहरु ल्याउनु पर्ने बताइन् ।
नगरपालिकाका पशुशाखा प्रमुख रामबहादुर देउजाले किसानलाई नगरपालिकाले बाख्रा उपहार दिएको र नमूना कृषक समूह बनाउन लागि पर्नुपर्ने बताए । मासु उत्पादनमा उपयुक्त मानिने बाख्राको पालनपोषण र राम्रो रेखदेख गर्न सुझावसमेत दिए । वितरण गरिएका बाख्रा करिब ९ महिनापछि प्रजनन योग्य हुने पशुशाखा प्रमुख देउजाको भनाइ छ ।
पशु प्राविधिक निर्ज दंगालले संचालन गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पत्रकार, किसान तथा स्थानीयको उपस्थिति रहेको थियो ।